काठमाडौं – नेकपा फुटेपछि माधवकुमार नेपाललाई अध्यक्ष बनाएकोमा असन्तुष्टि जनाउँदै आएका मधेश क्षेत्रका प्रभावशाली नेता प्रभू साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा छाडेका छन् ।
पूर्व माओवादी खेमाका भए पनि प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका साह मधेशमा प्रभावशाली मानिन्छन् । पछिल्ला केही महिनादेखि साहले विभिन्न विषयमा प्रचण्डसँग मतभेद राख्दै आएका थिए ।
ओली पक्षमा लागेका साह सरकारमा श्रम तथा रोजगार मन्त्री हुन लागेका छन् ।
नेकपामा फुट आएपछि प्रचण्ड–नेपाल पक्षीय केही मन्त्रीले राजीनामा दिएर रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् । नयाँ थपिएका मन्त्रीको शुक्रवार साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा विघटनपछि ओली सरकारमा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । शुक्रबार साँझ प्रभू साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बनेका छन् ।
मन्त्रीहरू तीनै जना पूर्व माओवादी खेमाका हुन् । साह श्रम तथा रोजगार, रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ र थापा पर्यटन मन्त्री बनेका छन् ।
साह प्रचण्ड–नेपाल पक्षीय भएपनि उनले माधव नेपाल अध्यक्ष बनेपछि असन्तुष्टि जनाएका थिए । अब उनी ओली पक्षमा लागेका छन् ।
प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक २ घण्टा पर सारेका छन् । नयाँ मन्त्रीलाई पनि बैठकमा सहभागी गराउन बैठक ८ बजेका लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ ।
नेता प्रभू साह समेत ओलीतिर लागेपछि प्रचण्ड निवास खुमलटारमा धक्का लागेको छ । यसअघि पूर्व माओवादी पक्षका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा लगायत नेताहरू ओलीतिर लागिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।