काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर हतारहतारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बन्न खोज्दा ओलीले संसद नै विघटन गरिदिए ।
त्यसपछि नेकपा फुट्यो । अब प्रचण्डलाई नेकपा पार्टीको वैधानिकता छिटो टुंगियोस् भन्ने हतारो भएको छ । प्रचण्डले शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन आग्रह गरेका छन् ।
काठमाडौंको माइतीघर मण्डलाबाट र्यालीसहित निर्वाचन आयोग पुगेका प्रचण्डले संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफ्नो पक्ष रहेको दाबी गरेका छन् ।
पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र केन्द्रीय सदस्यहरूको विवरण आयोगमा भएको र त्यसैका आधारमा नेकपा र निर्वाचन चिह्न सूर्य आफूहरूको भएको प्रचण्डले दाबी गरे ।
‘पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका ४ जनामध्ये अहिले हामीसँग ३१५ जना छौं । सशरीर बोलाउनुभयो भने पनि हामी उपस्थित हुन तयार छौं,’ निर्वाचन आयोगसमक्ष प्रचण्डले भने ।
नेकपा विभाजनअघि १०० जनाले १ हजार १०० बढी सदस्य संख्या पुर्याउँदैमा वैधानिकता नपाउने प्रचण्डको तर्क छ । ‘हामीसँग पार्टी विभाजन भएको अनुभव छ । विश्वास छ, आयोगले परम्परा, विधान र ऐनअनुसार निर्णय लिनेछ,’ प्रचण्डले भने, ‘दुईतिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका छौं । त्यसो हुँदा वैधानिकता विवाद छिटो टुंग्याइयोस् ।’
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।