काठमाडौं - आफूलाई प्रधानमन्त्री नबनाउने संसद् भंग गरिदिन्छु, आफ्ना मान्छेबाहेक अथवा आफ्नो दलबाहेक कसैले सरकार बनाउन प्रदेश सभाको समर्थन जुटाउँछ भने त्यस्तो प्रदेश सभा पनि भंग गरिदिन्छु भन्दै केपी ओलीले खुलेआम लोकतन्त्र, बहुलवाद, संविधानवाद र विधिको शासनसम्बन्धी सबै स्थापित मूल्यहरूमाथि धाबा बोलेका छन् ।
नेपाली राजनीतिमा यो एउटा अधिनायकवादी चिन्तनधाराको बिम्ब हो । जुन नेपाली राजनीतिमा सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा ओलीमा प्रकट भएको छ । यसलाई समयमै निस्तेज पारिएन भने लामो समय नेपाली राजनीति अस्थिरताको गोलचक्करमा फस्ने निश्चितप्रायः छ । ओलीका आकांक्षा पूरा हुन दिँदा दोस्रो आन्दोलनका उपलब्धि गुम्नेछन् ।
संघीयता र समावेशी लोकतन्त्रका जे–जे अवधारणा हामीले नयाँ संविधानमार्फत स्वीकार गरेका छौँ, ती खोसिनेछन् । निर्वाचनकै बाटो, लोकतान्त्रिक पद्धतिकै बाटो हिँड्ने भनेर सत्तामा पुगेका ओलीले जसरी प्रतिगमनको छुरा चलाएका छन्, त्यसले संसदीय लोकतन्त्र र उदारवादको खिल्ली उडाएको छ । उनी प्रतिनिधिसभाको विघटनमा मात्र नअडिएर प्रदेश सभा भंग गर्नतिर अग्रसर हुँदै छन् ।
एक साताअघि मात्र उनले संवैधानिक परिषद्सम्बन्धी संविधानका सिद्धान्त र परिकल्पनालाई रद्दीको टोकरीमा फालिदिएर आफ्ना खल्तीका मान्छेलाई नियुक्ति दिलाएका थिए ।
आफूलाई असहज हुनेबित्तिकै उनी जुनसुकै संस्थालाई पनि भत्काउन लागिरहेका छन् भन्ने पनि देखिन्छ । यो भस्मासुर प्रवृत्ति नियन्त्रण गर्ने अहिलेको मुख्य चुनौती हो । संविधानतः प्रतिनिधिसभा विघटन भइसकेपछि उनी कामचलाउ हैसियतका प्रधानमन्त्री हुन् ।
उनले दीर्घकालीन असर गर्ने र महत्वपूर्ण निर्णय गर्न पाउँदैनन् । तर, उनले अहिले पनि आफूलाई सर्वेसर्वा ठानिरहेका छन् । जबकि उनले आफ्नै पार्टीमा बहुमत गुमाइसकेका छन् ।
तैपनि उनी अहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा लागेका छन् । आफैं कामचलाउ हैसियतका व्यक्तिले मन्त्री संविधानको कुन धारा टेकेर गर्लान् ? अहिले राजनीतिक क्षेत्रमा प्रश्न उठेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।