काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटेको छ । सामान्य रूपमा फुटेको मात्रै छैन, नेकपा अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेता कार्यकर्ता एकअर्काविरुद्ध खरो रूपमा उत्रिएका छन् ।
यसै सिलसिलामा बिहीबार प्रचण्ड समूहले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा राति परेपछि राँके जुलुस निकालेको छ ।
प्रचण्ड पक्षका समर्थक कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका छन् । जुलुसमा प्रचण्ड समूहका जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ता सहभागी भएका थिए ।
अनेरास्ववियूका केन्द्रीय सदस्य हरि सिग्देलले नेतृत्व गरेको जुलुस कावासोतीको सभापति चोकबाट सुरू भएर जिल्ला प्रहरी कार्यालय नजिकैसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सिग्देलले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाएका छन् ।
संसद् विघटनपछि विभाजित नेकपामा पूर्वी नवलपरासीमा दाहाल–नेपाल समूह बलियो देखिएको छ । केन्द्रमा समेत ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक गरेर एकअर्कालाई कारवाही गरिरहेका छन् ।
प्रचण्ड पक्षले केपी ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएपछि बिहीबार ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिकाबाट हटाएका छन् । प्रचण्ड पक्षको केन्द्रीय कमिटी बैठकले ओली सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।