काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले एकअर्काको गुटबाट नेताहरू चोरेर आफ्नो गुटमा ल्याउनेक्रम व्यापक भएको छ ।
यस्तै प्रतिस्पर्धामा कर्णाली प्रदेश सभाका प्रचण्ड नेतृत्वको पूर्व माओवादी पक्षका २ जना सांसदलाई केपी ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी हल्लिएको छ ।
पूर्व माओवादी पक्षबाट दैलेख क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेतको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित ठम्बर विष्ट ओली पक्षको नेकपा केन्द्रीय सदस्यमा मनोनित भएका छन् । प्रचण्ड पक्षका २ जना प्रदेश सांसद ओलीतिर लागेपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ ।
कूल ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ जना, नेपाली कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । नेकपाका ३३ मध्ये अब ओली समूहमा सभामुखसहित १४ जना, प्रचण्ड–नेपाल समूहका १९ जना सांसदहरू रहेका छन् । कर्णालीमा बादल समूहले पनि प्रचण्ड समूहलाई नै साथ दिएको छ ।
शाही नेतृत्वको प्रदेश सरकार कायमै राख्न प्रदेश सभामा २१ जना सांसदको समर्थन चाहिन्छ । प्रचण्ड–नेपाल समूहसँग १९ सांसदको मात्रै समर्थन बाँकी रहेकाले आवश्यक बहुमत पुर्याउन अब कांग्रेसको भर पर्नुपर्ने अवस्था आएको छ ।
कांग्रेस र प्रचण्ड–माधव समूह मिल्दा सांसद संख्या २५ हुने भएको छ । कांग्रेसले साथ दिए मुख्यमन्त्री शाहीको कुर्सी जोगिनेछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कुनै एक पक्षलाई साथ दिने बताए । ‘हामी अहिले पर्ख र हेर भन्ने मान्यतामा छौं । कुन पक्षलाई सहयोग गर्ने अहिले नै भन्न सकिँदैन,’ उनले भने, ‘केन्द्रको राजनीतिक माहोल कस्तो हुन्छ भन्नेमा भर पर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।