काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपनि नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने संसद पुनःस्थापना गरेर प्रधानमन्त्री बन्ने सुरसारमा छन् ।
नेकपा संसदीय दलको बैठक डाँकेर प्रचण्ड दल नेता निर्वाचित भएका छन् । बैठकमा उनले संस्द पुनःस्थापित गरेर प्रधानमन्त्री ओलीलाई विधिवत् रूपमा हटाउने घोषणा गरेका छन् । त्यसपछि आफू प्रधानमन्त्री बन्न उनी संसदीय दलको नेता समेत बनिसकेका छन् ।
प्रचण्डले प्रधानमन्त्री बन्न सुरसार गरिरहेपनि उनलाई सर्वाेच्च अदालतबाट धक्का लागेको छ । प्रचण्डको योजनामा नेकपा प्रमुख सचेतक देव गुरुङ लगायत सांसदले सर्वाेच्च अदालतमा रिट दायर गरेर अन्तरिम आदेश दिन माग गरेपनि सर्वाेच्चले त्यसलाई अस्वीकार गरेको छ ।
प्रचण्ड पक्षीय सांसदले संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए । तर सर्वाेच्चले प्रचण्ड पक्षका सांसदको माग सुनुवाइ गरेन ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा पठाउने आदेश सुनाएको अधिवक्ता लोकेन्द्र ओलीले बताएका छन् ।
आगामी शुक्रबार बस्ने संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि छलफल हुने जनाइएको छ । बुधबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।
निवेदकले अन्तरिम आदेश माग गर्दै प्रतिनिधिसभा विघटनबारे बृहत् पूर्ण इजलासमा छलफल गराउन माग गरेका थिए । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको दाबीसहित सोमवार र मंगलवार सर्वोच्चमा १२ रिट परेका थिए ।
नेकपाका सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाक्री र शशी श्रेष्ठ लगायतले सर्वोच्चका रिट निवेदन दिएका थिए ।
ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि चुनावको मिति घोषणा गरेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।