काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड) समूहको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको घोषणा गरेको छ ।
काठमाडौंको बबरमहलमा चलिरहेको बैठकमा नेता भीम रावलले बैठकमा राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरिएको छ ।
बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको दाबी छ । ओलीलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटक–पटक उल्लंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप लगाइएको छ ।
मंगलवार नै ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो । ओली पक्षले साविकको केन्द्रीय कमिटी बैठकलाई विस्तार गरेर १ हजार १९९ सदस्यीय बनाएको छ । ओली पक्षले कमिटीलाई महाधिवशेन आयोजक कमिटी भनेर जनाएको छ ।
बैठकमा प्रचण्डले संसद विघटनको असंवैधानिक कदम फिर्ता लिएर आएमा ओलीलाई पार्टीमा स्वागत गर्ने, अन्यथा अनुशासनको कारवाही लागू हुने जनाएका छन् । ओलीको अहंकारका कारण देश संवैधानिक र राजनीतिक दुर्घटनामा फसेको प्रचण्डले बताए ।
‘केपी ओली पार्टीमा आउनुहुन्छ, असंवैधानिक कदम फिर्ता लिनुहुन्छ भने पार्टीमा स्वागत गर्छाैं । अन्यथा अनुशासनको कारवाही गर्छाैं,’ प्रचण्डले बैठकमा भनेका छन् ।
प्रचण्डले ६५ प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएकाले आफूहरू नै वैधानिक नेकपा भएको समेत दाबी गरे । प्रचण्डले एकतिहाइ सदस्य उपस्थित बैठकले दुइतिहाइ सदस्य थप गरेर गरिएको निर्णय आधिकारिक हुन नसक्ने दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।