काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद उत्कर्षमा पुगेर पार्टी आज मंगलबार फुटको औपचारिक घोषणा हुने अवस्थामा पुगेको छ ।
पार्टी फुट्नै लाग्दा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा सक्रिय रहेका नेताहरू उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अन्तिममा पनि साथ दिएनन् । २ प्रभावशाली नेताहरू प्रचण्ड गुटमा सक्रिय नभएपछि ठूलो धक्का लागेको छ ।
तर गौतम गुटका भनिएका सांसदहरू भने प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन् । गौतम गुटका केन्द्रीय सदस्यहरू बलराम बाँस्कोटा, हरि पराजुली, राधा ज्ञवाली लगायत केही नेताहरू अझै पनि गौतमकै कारण कुनै गुटमा खुलेका छैनन् ।
प्रतिनिधिसभा विघटनको विरोध गरेका गौतम दुबै पक्षको भेला र छलफलमा सहभागी भएका छैनन् । प्रतिनिधिसभा विघटन हुनुअघिसम्म गौतम प्रचण्ड गुटमा सक्रिय थिए ।
गौतमले सोमवार औपचारिक भनाइमार्फत् फुटको साक्षी नबस्ने बताएर दुबैतिरको बैठकमा नजाने जनाएका छन् । ‘अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरें । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु,’ उनले भने ।
गौतमजस्तै गृहमन्त्री बादल कता लाग्लान् भन्ने विषय पनि नेकपापंक्तिमा चासो बढेको छ । उनको समूहमा रहेका स्थायी कमिटी सदस्य देव गुरुङ र पम्फा भुसालसहित करीब २ दर्जन केन्द्रीय सदस्यमध्ये अधिकांशले पुल्चोकस्थित क्वार्टरमै पुगेर बादललाई प्रचण्ड–नेपालको पक्षमा खुल्न र विघटनको समर्थन गरेर प्रतिक्रान्तिको बाटोमा नहिँड्न कडा दबाब दिएका छन् । बादलकै समूहका केन्द्रीय सदस्य कुलप्रसाद केसीसहित आधा दर्जनजति केन्द्रीय सदस्य भने उनी अन्तिममा जता खुल्छन्, त्यतै लाग्ने मनस्थितिमा देखिएका छन् । बादल पनि पूर्व माओवादी नेता रहेकाले उनी सक्रिय नहुँदा प्रचण्ड गुटलाई धक्का लागेको छ ।
बादलले प्रधानमन्त्री ओली र प्रचण्ड दुबैलाई आफूले अन्तिममा साथ दिने आश्वासन दिएका छन् । बादलले दुबै अध्यक्षसँग बेग्लाबेग्लै भेट पनि गरेका थिए । ‘प्रधानमन्त्री महाधिवेशनसम्म अहिलेकै जनताको जनवादको कार्यदिशालाई बोकेर जाने र महाधिवेशनमा मात्रै बहस ओपन गर्ने, अहिलेलाई जबज नबोक्ने लिखित समझदारीमा तयार हुनुभयो भने त्यतातिर समर्थन गर्ने सम्भावना पनि छ, उहाँ अझै सोच्ने तहमै हुनुहुन्छ, अन्यथा उहाँले बहुसंख्यककै निर्णयअनुसार प्रचण्ड–नेपाललाई नै साथ दिनुहुन्छ,’ बादलनिकट स्रोतले भन्यो ।
केन्द्रीय सदस्यहरूसँगको भेटमा भने बादलले देशीविदेशी प्रतिक्रियावादीहरूले नेकपा विभाजनका लागि कोसिस गर्दै आएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहले फुटको चाहनालाई पूरा गर्ने गरी पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका थिए ।
‘पार्टी फुटको दिशामा जानुहुन्नथ्यो, तर देशीविदेशी प्रतिक्रियावादी खुशी बनाउने खेलतिर दुवै पक्ष लाग्दा अहिलेको अवस्था आयो, वास्तवमा प्रधानमन्त्रीलाई हटाउन गरिएको हस्ताक्षर र त्यसको प्रतिक्रियामा प्रतिनिधिसभा विघटन गर्ने दुवै कदम अतिवादी हो र दुबै बेठीक छ,’ बादल भने, ‘तर म अझै एकताका लागि कोसिस गरिरहेको छु । सबैको भावनाअनुसार उपयुक्त निर्णय लिन्छु, तपाईंहरूलाई निराश बनाउँदिनँ ।’
पूर्व माओवादी समूहकै उद्योगमन्त्री लेखराज भट्ट सोमवारको बालुवाटारमा भेला भएर ओलीको पक्षमा खुलेका छन् । उनले सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिइएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन भएको भन्दै त्यसमा समर्थन रहेको जनाएका छन् । टोपबहादुर रायमाझी बालुवाटारमा केहीबेर देखापरेर भेला सुरू नहुँदै बाहिरिएका थिए । हरिबोल गजुरेल र मणि थापा पनि दुवैतिरको भेलामा सामेल नभए पनि उनीहरूले ओली पक्षलाई साथ दिने तयारी गरेका छन् । गजुरेल प्रचण्डका निकट विश्वासपात्र मानिन्थे । तर उनले पनि प्रचण्डलाई साथ दिएका छैनन् ।
नेपालनिकट नेकपा केन्द्रीय सदस्य समेत रहेका सांसद शेरबहादुर तामाङ ओली पक्षको भेलामा सहभागी भएका छन् । प्रचण्ड–नेपालको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुम्लाका सांसद छक्कबहादुर लामा पनि ओली पक्षमा खुलेकाले प्रचण्ड–नेपाल गुटलाई घाटा हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।