काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेका बेला एकअर्कालाई निषेध गर्ने अवस्था सिर्जना भएको छ ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङ जिल्लाको बेंसीशहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूलाई प्रवेश निषेध गरेका छन् ।
जिल्लामा रहेका प्रचण्ड–नेपाल पक्षीय अध्यक्ष र सचिवको कार्यकक्षमा ओली पक्षीय कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
नेकपाले एकीकरण हुँदा तत्कालीन माओवादी नेतृ मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनेका थिए । ओलीनिकट युवा संघ र विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न नपाइने भन्दै सोमवार दिउँसो कार्यकक्षमा बसिरहेकी अध्यक्ष अधिकारीलाई बाहिर निकालेर ताला लगाएका हुन् ।
राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भने, ‘पार्टीभित्र घेराबन्दी गरेर आफ्नै प्रधानमन्त्री र आफ्नै अध्यक्षलाई असफल बनाउन खोज्नेहरू कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन ।’
अध्यक्ष अधिकारीले ओली पक्षीय युवाले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन् । युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको दाबी गरे ।
ओली निकट युवा र विद्यार्थीले अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर नाराबाजी गर्दै बजार परिक्रमा समेत गरेका थिए ।
ओली पक्ष आक्रामक भएपछि प्रचण्ड र नेपाल समूहका युवा, विद्यार्थी लगायतले ओलीको कदमको विरोधमा पार्टी कार्यालय नजिक भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै बजार परिक्रमा गरी शेराचोक पुगेर कोणसभा गरेका थिए । प्रचण्ड निकट मानिने नेकपा बेंसीशहर नगर कमिटी सचिव शोभा थापाले नाराबाजी गर्दै भीमसेनस्थान चोकबाट शेराचोकसम्म र्याली निकालिएको र शेराचोकमा कोणसभा गरिएको जानकारी दिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।