काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका २०० बढी सांसदसहित आफू सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
सोमवार नयाँ बानेश्वरको संसद भवनमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदको भेलामा बोल्दै प्रचण्डले प्रतिनिधिसभा जीवितै रहेको प्रमाण सर्वोच्च अदालतलाई दिन अदालत जान लागेको बताए ।
भूमिगतकाल भारतको लखनऊमा देखेको एक दृश्य उल्लेख गर्दै प्रतिनिधिसभा जीवित रहेको प्रमाणका रूपमा सर्वोच्च जानुपर्ने उनले बताएका छन् ।
‘लखनऊ कुनै बेला म पुग्दा सडकमा ‘हामी जिउँदै छौं’ भनेर प्लेकार्ड बोकेर मान्छेहरू हिँडिरहेका थिए । के रैछ भनी बुझ्दा आफन्तहरूले मरिसक्यो भनेर सम्पत्ति हत्याएका पीडितहरू प्रमाणका रूपमा सडकमा आएका रहेछन्,’ अध्यक्ष प्रचण्डले भने, ‘अब हामी पनि झण्डै २०० जनाको जुलुस लिएर सर्वोच्च अदालत गयौं भने अदालतले पनि भन्नेछ – सांसदहरू जिउँदै रहेछन् अनि संसद जीवित रहेछ ।’
यसअघि सोमबारै नेकपाका ९० जना सांसदहरू मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालत जाने तयारी रहेपनि अरू दलका सांसदलाई पनि सहभागी गराएर सर्वोच्च जानु उपयुक्त हुने निष्कर्षपछि अदालत जाने कार्यक्रम पछि सरेको छ ।
दलको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीमा छल र बेइमानी कल्पना गर्न सक्नेभन्दा बढी देखिएको बताए । ‘उहाँमा छल, बेइमानी यति धेरै भयो कि कल्पनै गर्न सक्दिनँ,’ प्रचण्डले भने ।
संवैधानिक नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओलीले पार्टीलाई ढाँटेको उनले बताएका छन् । ‘उहाँले स्थायी कमिटीमै संवैधानिक नियुक्ति गरेको छैन भन्नु भयो तर उहाँ कमिटी बैठकमा नांगिनुभयो,’ प्रचण्डले भने ।
आईतवार बिहान संसद भग्न हुनेबारे आफूलाई जानकारी आएकोबारे सोध्दा पनि त्यसबारे ओलीले केही नबताएको प्रचण्डले दाबी गरे । ‘आईतवार बिहान संसद भग्न हुनेबारे मलाई जानकारी आएको थियो । साढे ८ बजे प्रधानमन्त्रीसँग कुरा भयो । केही कदम चाल्ने भए छलफल गरेर चाल्न भनेको थिएँ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर आकस्मिक बैठक राखेर यसो गर्नुभयो ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्नेबारे भोलिको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताएका छन् । ‘अब संसदीय दलबाट दलको नेता पर्सि चुन्छौं । अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्छ,’ प्रचण्डले भने, ‘पार्टीको निर्देशन ध्यान दिएर संसदीय दलमा निर्णय गर्छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।