काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेपछि बालुवाटारमा ओलीपक्षीय गुटको भेला हुन लागेको छ ।
ओलीले आज सोमवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताहरूको भेला बोलाएका छन् ।
भेलामा ओली पक्षका राष्ट्रियसभा सदस्य, विघटित प्रतिनिधि सभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति रहने जनाइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीमाथि कारवाही नै गर्ने भएपछि अब नेकपा फुटाउने तयारी समेत सुरू भएको छ ।
राजनीतिक र व्यावहारिक रूपमा फुटिसकेको नेकपालाई सांगठनिक रूपमा नै फुटाउने गरी तयारी सुरू भएको नेकपा नेताहरु बताउँछन् । प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटीबाट ओलीमाथि कारवाहीको निर्णय गर्नसक्ने भएकाले ओलीले त्यसअघि नै कुनै कदम चाल्न सक्ने स्रोतले जनाएको छ ।
आईतबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । पुस १० गतेका लागि सारिएको केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।