काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाखका लागि मध्यावधि चुनाव घोषणा गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खुसी भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको ताजा जनादेश लिने कुरा प्रजातान्त्रिक भएको ठहरसहित निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
संसद विघटनको निर्णयसँगै आईतबार बसेको राप्रपा सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठकले निर्वाचनमा सहभागी हुने निर्णय लिएको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै राप्रपाका एक केन्द्रीय सदस्यले चुनावमा जानुपर्नेमा बैठक केन्द्रित भएको र त्यसमा तीनै अध्यक्षसहित पदाधिकारीको सहमति रहेको बताए ।
बैठकमा अध्यक्ष कमल थापाले जनताको मन जित्ने गरी चुनावका लागि तयार हुनुपर्ने बताएका छन् । बैठकपछि जारी राप्रपा बैठकको निर्णयमा संसद विघटन संविधान र प्रजातन्त्रिक मूल्य मान्यताविपरीत रहेको समेत ठहर गरिएको छ ।
राप्रपाले नयाँ चुनावलाई भने स्वागत गरेको छ । राप्रपाको आधिकारिक निर्णयमा भनिएको छ, ‘परिवर्तित सन्दर्भलाई विगतको त्रुटि, कमी–कमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीतिअनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरूप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्बद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ ।’
निर्णयमा राप्रपाले संसद विघटनलाई ‘मन्त्रिपरिषद्को दुरासयपूर्ण र स्वेच्छाचारी निर्णयको पक्षमा राष्ट्रपतिले तटस्थ भूमिकालाई विवादास्पद तुल्याएको’ जनाएको छ ।
आकस्मिक बैठकमा अध्यक्ष थापाले पछिल्लो विकसित घटनाक्रमको विश्लेषण गर्दै जनआन्दोलन २०६२/६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत रहेको तथ्यलाई थप पुष्टि गरेको बताएका छन् ।
सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद र बिग्रहको कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको भन्दै अध्यक्ष थापाले पछिल्लो कदमले प्रजातान्त्रिक मूल्य मान्यतालाई गम्भीर क्षति पुर्याएको समेत बताएका छन् ।
बैठक अर्का अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो । बैठकमा अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको केन्द्रीय सदस्य तथा युवा नेता राजाराम बर्तौलाले बताएका छन् ।
बैठकमा नेताहरू बुद्धिमान तामाङ, हरिबहादुर बस्नेत, बिक्रम पाण्डे, निरन्जन थापा, ठाकुर शर्मा, भुवन पाठक, रोशन कार्की, कुन्ती शाही, श्याम तिमल्सिना, दूर्गा श्रेष्ठ, बिक्रम थापा, राजाराम श्रेष्ठ, ध्रुवबहादुर प्रधान लगायतले धारणा व्यक्त गरेका थिए ।
अध्यक्ष थापाले नयाँ चुनावमा जाँदा भ्रष्टाचार, बेरोजगारी र धर्म परिवर्तनको कुरालाई मार्गचित्र बनाएर जानुपर्ने बताएका छन् । थापाले राजा सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको पक्षमा जनमत सिर्जना गर्नुपर्ने समेत बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।