काठमाडौं- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युबा नेता तथा पूर्व मन्त्री गगन थापाले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल हुतीहारा भएकाले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको हिम्मत गरेको बताएका छन्।
थापाले संसद् विघटन हुनुमा प्रधानमन्त्री जत्तिकै उनीहरु पनि जिम्मेवार रहेको आरोप लगाएका छन् । थापाले भने, ‘स्थायी समिति, सचिवालय नभनीकन संसदीय दलमा अविश्वासको प्रस्तावको पत्र लगेको भए यो अवस्था आउने थिएन। उहाँहरुकै हुती नभएका कारणले यो अवस्था आएको हो।’
‘प्रधानमन्त्रीले आफूले ५ वर्ष देश चलाउने भन्दै ढुक्क भएर बस्नुस् भनेको म सम्झन्छु। तर, तपाई प्रधानमन्त्री भएका दिनदेखि कोही पनि ढुक्कले सुत्न सकेका छैनन्, प्रधानमन्त्रीज्यू!’ उनले सरकारविरुद्ध सम्हाल्नै नसक्ने गरी सडक आन्दोलन पनि नभएको र अविश्वासको प्रस्ताव पनि नआएको भन्दै सनकका भरमा संसद् विघटन गरिएको बताए।
‘नेकपाभित्रको झगडा र केपी ओलीको महत्वकांक्षाका कारण सिंगो व्यवस्थामाथि प्रश्न उठेको छ। एउटा अहंकारी व्यक्ति प्रधानमन्त्री हुँदा संसद र संविधान सिकार भएको छ। संविधानमा कहाँनेर लेखेको छ। संसद विघटन गर्न पाइन्छ भनेर?,’ थापाले थपे, ‘२०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिइँदा त्यसको दुरुपयोग भएकाले नै अहिले संविधानमा त्यसको व्यवस्था नगरिएको हो।
असंवैधानिकरुपमा संसद् विघटन गर्न पाइन्छ ?’ उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको राष्ट्रपति हुने नैतिकता गुमाएको बताए। ‘अब तपाई मेरो राष्ट्रपति होइन। केपी ओली ग्याङको एउटा सदस्य मात्रै होे। अब तपाईले जनताको राष्ट्रपति हुने नैतिकता राख्नुहुन्न,’ उनले भने, ‘प्रधानमन्त्रीले संसदमाथि अपराध गर्दा तपाईले रोक्नुहुन्छ भन्ने झिनो आशा थियो। तर, तपाई त्यसकै साझेदार हुनुभएको छ।’
उनले ओलीले संवैधानिक निकायमा गरिएका नियुक्तिको समेत विरोध गरे। ‘प्रधानमन्त्रीले जाँदाजाँदै संवैधानिक नियकामा नियुक्तिको सिफारिस गर्नुभयो रे। सिफारिसमा पर्नेहरुले बुझे हुन्छ। तपाईहरुको सिफारिस संवैधानिक आयोगमा होइन ओली आयोगमा भएको होला, हामी मान्दैनौं,’ उनले भने, ‘जालझेलले देश चल्दैन। रक्षकका जिम्मा बसेका भक्षकहरु विरुद्ध एक हुनुपर्छ। सन्काह प्रधानमन्त्रीको सिकार बनेको प्रतिनिधिसभा पुनः बिउँत्याउनुपर्छ।’
‘असक्षम व्यक्तिलाई हामीले प्रधानमन्त्री पायौं त्यसकै दुर्भाग्य आजको परिस्थिति सिर्जना भएको छ,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।