काठमाडौं – नेकपाभित्र संघर्ष र संकट बढिरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध खतरनाक प्लान बनाएका छन् ।
प्रचण्ड निवास खुमलटार नै पुगेर पार्टीमा दर्ता भएको प्रस्ताव फिर्ता लिन गरेको आग्रह नमानेपछि ओलीले पूर्व माओवादी पक्षीय नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रचण्डविरुद्ध प्रयोग गर्ने योजना बनाएका हुन् ।
खुमलटारमा प्रचण्डसँग सहमति नभएपछि ओली गृहमन्त्री बादललाई भेट्न सिधै मन्त्रिनिवास पुल्चोक पुगेका थिए । स्रोतका अनुसार ओलीले प्रचण्डको प्रस्तावको खण्डन हुने गरी साझा राजनीतिक प्रतिवेदन लेख्न गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई आग्रह गरेका छन् । बादलले लेख्ने प्रस्तावमा सरकारका राम्रा कामको बारेमा व्याख्या गर्न समेत आग्रह गरिएको छ । प्रचण्डले सरकारको विरोध गर्दै प्रस्ताव लेखेका थिए ।
प्रधानमन्त्री ओलीले बादललाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गरिसकेका छन् । ओलीले प्रचण्डलाई कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए । तर प्रचण्डले नमानेपछि प्रधानमन्त्री ओलीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेश गर्न आग्रह गरेको स्रोतको दाबी छ । नेकपा स्थायी कमिटी बैठक आज आईतबार बस्ने गरी तोकिएको छ ।
प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई सबैलाई मान्य हुने प्रतिवेदन लेख्न आग्रह गरेका हुन् । ‘कोही कसैको पक्षमा लाग्नुपर्दैन, तपाईं पनि सचिवालय सदस्य हो, पार्टी एकतालाई कायम राख्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भनेको छ ।
पूर्व माओवादी समूहका केही नेता समेत दुवै अध्यक्षको प्रतिवेदन विस्थापन गरेर साझा प्रतिवेदन ल्याउनुपर्ने पक्षमा रहेका छन् । बादलले ओलीलाई सहयोग पुग्ने गरी उद्योगमन्त्री लेखराज भट्ट लगायतलाई परिचालन गरिरहेका खुमलटारको असन्तुष्टि छ । यस्तो बेला पूर्व माओवादी नेताहरूकै काँधमा बन्दुक राखेर प्रचण्डविरुद्ध फायर खोल्ने खतरनाक प्लान ओलीले बनाएका छन् ।
प्रधानमन्त्री ओली खुमलटारबाट सिधै मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए । पुल्चोकमा गृहमन्त्री थापासँग केहीबेर कुराकानी गरेका ओलीले सबैलाई मान्य हुने साझा प्रतिवेदन ल्याएर पार्टी एकतालाई कायम राख्न आग्रह गरेको स्रोतको दाबी छ । ओली र थापाले कुराकानी गरिरहेका बेला पुल्चोकमा भूमिसुधारमन्त्री पदमा अर्याल, भौतिक योजना मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि पुगेका थिए । ओलीले प्रचण्डसँगको कुराकानी फलदायी नभएको बताएका थिए ।
‘आजको भेट खास उपलब्धिमूलक भएको छैन । स्थायी कमिटीको बैठक चलिरहेको छ । समस्याको समाधान खोज्ने थलो एउटा त्यो पनि हो तर पार्टी सहमतिमा सञ्चालन गर्ने भन्ने उल्लेख छ त्यो सहमति उल्लंघन हुँदै आएको छ,’ ओलीले त्यसबेला भने ।
प्रचण्ड–नेपाल समूह भने ओलीलाई एक पद छोड्न बाध्य पार्ने रणनीतिमा लागेका छन् । तर ओली दुवै पद छाड्ने मनस्थितिमा देखिएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।