काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला समस्या समाधानका लागि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर थुप्रै नेता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगे । तर समस्याको समाधान निस्किएन ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनदिनै गइराख्छन् । तर पनि समाधान निस्किएको छैन । दिनदिनै बालुवाटार जाँदा वाक्क भएका प्रचण्डलाई फकाउन ओलीले नयाँ जुक्ति निकालेका छन् ।
अब प्रचण्डलाई फकाउन ओली आफैं प्रचण्ड निवास खुमलटार जाने भएका छन् । प्रधानमन्त्री भएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्, प्रचण्ड भने धेरैपटक बालुवाटार गइसकेका छन् ।
प्रधानमन्त्री ओली निकट स्रोतले दिएको जानकारी अनुसार ओली बिहान १० बजे प्रचण्ड निवास खुमलटार जाँदैछन् । पार्टीमा जारी गतिरोधबीच ओली प्रचण्ड निवास जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शुक्रवार बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । बालुवाटारको भेटमा प्रचण्डले ओलीसँग गुनासो गर्दै भनेका थिए, ‘म मात्रै आइरहन्छु तपाईं पनि मेरोमा आउन हुन्छ नि !’ त्यसपछि प्रचण्डको चाहना बुझेपछि ओली खुमलटार जान तयार भएका हुन् ।
पछिल्लो समय संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणले नेकपाभित्र विवाद चर्किएको छ । शुक्रबार नेकपा कार्यालय पेरिसडाँडामा आयोजित भेलामा प्रचण्डले ओलीविरुद्ध थप एक्सन लिने बेला भएको अभिव्यक्ति दिएका थिए ।
यसअघि पार्टीभित्रै संकटमा परेका बेला ओली उपाध्यक्ष बामदेव गौतम निवास भैंसेपाटी पुगेका थिए । त्यसपछि गौतमले ओलीलाई सहयोग पुग्ने गरी काम गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।