काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको शरणमा पुगेका छन् ।
नेकपाका २ समूहले नेपाली कांग्रेसका नेताहरूसँग छलफल गर्दै सहयोगको आग्रह गर्न थालेका छन् ।
शुक्रवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।
नेकपा भित्रको विवाद दिनदिनै बढ्दै गएको र प्रधानमन्त्री केपी ओलीले थप कदम चाल्न सक्ने आशंकाबीच नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कांग्रेसका वरिष्ठ नेता पौडेलसँग सहयोग मागेका छन् ।
ओलीले बुधवारको पार्टीको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताएका थिए ।
कांग्रेस सभापति देउवाको भूमिकालाई लिएर नेकपा अध्यक्ष र वरिष्ठ नेता नेपाल सशंकित भएकै बेला शुक्रबार नेता पौडेलसँग छलफल भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको आन्तरिक राजनीतिलाई लिएर प्रधानमन्त्रीले अध्यादेश ल्याएजस्तै थप अलोकतान्त्रिक र गैरसंवैधानिक कदम चाल्न सक्ने सम्भावनालाई ध्यान दिएर संविधान र लोकतन्त्रका पक्षधरको सहकार्यबारे पौडेलसँग छलफल भएको जानकारी दिए ।
‘हाम्रो पार्टीमा अहिले देखिएको विवादलाई लिएर प्रधानमन्त्रीबाटै अलोकतान्त्रिक र गैरसंवैधानिक कदम चाल्ने खतरा पनि देखिएको छ । यस्तो कदम चाल्न दिनु हुँदैन भनेर हिजो लोकतन्त्रका लागि लडेकाहरूबीच संविधान र लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्नुपर्छ भन्नेमा छलफल भएको हो । नयाँ समीकरण र सरकारबारे छलफल भएको होइन,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।
तर पौडेलनिकट स्रोतले १ घण्टा लामो संवादमा सम्भावित समीकरणको विषयमा समेत छलफल भएको थियो । भेटमा प्रचण्ड–नेपालले प्रधानमन्त्री ओलीले हठात् अध्यादेश ल्याएर संवैधानिक परिषद् बैठक बोलाउनुको पछि कांग्रेस सभापति देउवाको भूमिकामाथि प्रश्न उठाएको पौडेलनिकट स्रोतले जानकारी दिएको छ ।
‘प्रधानमन्त्रीले अध्यादेश जारी गरेर संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा देउवाजीको भूमिका शंकास्पद छ,’ ओली–देउवाबीचको नियमित भेटलाई लिएर शंका व्यक्त गर्दै प्रचण्ड–नेपालले पौडेललाई भनेको उदृत गर्दै एक नेताले भने, ‘सम्भावित समीकरणका विषयमा तपाईंले भूमिका खेल्नुपर्यो ।’ यद्यपि प्रचण्ड–देउवाबीच अध्यादेश जारीपछि मंगलवारयता पटक–पटक टेलिफोन संवाद भएको छ । पार्टीभित्र निर्णय भइसक्दा पनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता प्रक्रिया अगाडि नबढाएपछि प्रचण्ड–नेपाल समूहले देउवाको भूमिकामाथि अझै आशंका गरेको छ ।
पार्टीभित्र ओलीले जुनसुकै बेला दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रचण्ड–नेपालले त्यसपछिको राजनीतिक समीकरणका विषयमा भूमिका खेल्न आग्रह गरेको पौडेलनिकट नेताले दाबी गरेका छन् । ‘ओलीजीमाथि हाम्रो विश्वास उडेको छ, अब हामी पनि पछि हट्न सक्ने अवस्थामा छैनौं,’ प्रचण्डले पौडेलसँग भनेको उदृत गर्दै स्रोेतले भन्यो, ‘कांग्रेसले हामीलाई साथ दिनेबारे तपाईंहरूले शेरबहादुरजीलाई सम्झाइदिनुपर्यो ।’
मंसिर ६ गते संवैधानिक परिषद्को बैठक र संवैधानिक निकायमा नियुक्तिको विषयमा छलफल गर्न भन्दै बैठक बोलाएर देउवालाई सत्ता समीकरणको प्रस्ताव गरेको झण्डै १ महिनापछि प्रचण्ड–नेपालले नयाँ समीकरणबारे परामर्श थालेका छन् । नेकपा विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री ओलीले गत मंसिर ६ गते देउवालाई बालुवाटार बोलाएर सत्ता समीकरणको प्रस्ताव गरेको बाहिरिएको थियो । भेटको विषय सार्वजनिक नभएको भन्दै पौडेल समूहले त्यसको विरोध समेत गरेको थियो ।
संवैधानिक परिषद्को बैठकका सम्बन्धमा भन्दै प्रधानमन्त्री ओली र देउवाबीच पटक–पटक भेटघाट हुँदै आएको छ । तर मंगलवार सरकारले यसै विषयमा अध्यादेश जारी गरेपछि भने कांग्रेस तर्सिएको छ । नेकपामा आन्तरिक विवाद चर्किंदा पार्टी भित्रका प्रतिपक्षीमाथि दबाब बनाउन प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट्ने गरेका छन् ।
पार्टीभित्र प्रतिपक्षले राजीनामा मागेका बेला ओलीले गत असार १७ गते पनि देउवासँग गोप्य भेट गरेका थिए । तर सुइँको समेत नदिई प्रधानमन्त्रीले असार १८ गते संसद् अधिवेशन अन्त्य गराएपछि देउवा रन्थनिएका थिए ।
नेकपाको एकीकृत भविष्य दुर्घटनामा पुगे सरकारको अंकगणितमा कांग्रेसको भूमिका महत्त्वपूर्ण देखिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा सामान्य बहुमतका लागि १३८ सांसद चाहिन्छन् । तर हाल प्रतिनिधि सभामा सभामुखसहित २६९ जना सांसद कायम छन् । संसदमा बहुमत भनेको १३५ सांसद हो । यो अंकगणित हेर्दा कांग्रेसका ६१ सांसदसँग मिलेर सरकार बनाउन नेकपाका कुनै पनि समूहलाई ७४ सांसदको खाँचो हुन्छ ।
हाल १७३ सांसद रहेको नेकपामा दुवै समूहसँग कम्तीमा ७४ सांसद छन् । प्रचण्ड–नेपाल समूहका ८३ सांसदले त संसद्को विशेष अधिवेशनका लागि हस्ताक्षर समेत गरेका थिए । तर राष्ट्रपति कार्यालयले नेकपा सांसदहरूको निवेदन दर्ता नगरेपछि संसद अधिवेशन बोलाउन प्रक्रिया रोकिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।