काठमाडौं – शुक्रबार दिउँसो नेकपा पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय १ नम्बर प्रदेशका नेता कार्यकर्ताको भेला थियो । जसमा प्रचण्डले ओली प्रवृत्ति खराब रहेको भन्दै खुब थर्काए ।
भेलामा वरिष्ठ नेता नेपालले समेत ओलीविरुद्ध खुब बोले । ओलीलाई ठीक पार्न कडा कदम चाल्नेसम्मको चेतावनी प्रचण्डले दिए ।
तर राति परेपछि प्रचण्ड सुटुक्क बालुवाटार छिरेका छन् । नेकपा स्रोतका अनुसार अहिले बालुवाटारमा ओली–प्रचण्डबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले अध्यादेश प्रकरण लगायत विषयमा छलफल भइरहेको जनाइएको छ । बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने निर्णय भएको ३ दिनसम्म पनि ओलीले निर्णय कार्यान्वयन गरेका छैनन् ।
अध्यादेश फिर्ता प्रकरणमा अध्यक्षद्वयबीच विवाद झनै चर्किंदै गएको छ । यसअघि ओलीमाथि गम्भीर आरोप लगाउँदै प्रचण्डले पार्टीमा पेश गरेको प्रस्तावको विवाद समेत कायमै छ । विवादबीच जारी स्थायी कमिटी बैठक पुस ५ गतेका लागि तोकिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।