काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका घिनलाग्दा हर्कतले वाक्क भएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै हस्ताक्षर संकलन भएको छ ।
पार्टीमा छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएपछि नेकपाका झण्डै बहुमत ८३ सांसदले संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरेका नेकपा स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्, ‘संसद अधिवेशन बोलाउनुपर्ने समयमा र नेकपा स्थायी कमिटीको बैठक चलिरहेको बेला हठात् ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे छलफल गर्न नेकपाका ८३ सांसदहरूको हस्ताक्षरसहित दिउँसो १२.४८ बजे आवेदन दिई दर्ताको माग गर्दा ६ घण्टा कुराइयो । यसो गर्नु लोकतान्त्रिक मान्यता विपरीत हो ।’
प्रतिनिधि सभामा हाल नेकपाका १७३ सांसद छन्, जसमध्ये झण्डै बहुमत ८३ सांसदले ओलीविरुद्ध हस्ताक्षर गरिसकेका छन् । सभामा कांग्रेसका ६३ र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसद छन् । यसरी नेकपा, कांग्रेस र जसपाका सांसद मिलेर प्रधानमन्त्री ओलीलाई जुनसुकै बेला पनि हटाउन सकिने अवस्था रहेको छ ।
प्रधानमन्त्री ओलीका गैरराजनीतिक हर्कतले नेकपा, कांग्रेस र जसपा सांसदहरू वाक्कदिक्क भएका छन् । जनस्तरमा समेत ओली सरकार आलोचित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो इशारामा चलाउँदै ओलीले मनपरी गरिरहेका छन् ।
ओलीको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशमाथि छलफल गर्न संसद अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन बुझाउन जाँदा दर्ता नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नेता रावलले लेखेका छन्, ‘संविधान प्रदत्त अधिकार अनुरुपको आवेदन दर्ता नगर्नु स्वेच्छाचारी चरित्रकै द्योतक हो । प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने र अरू विषयमा पुस ५ गते स्थायी कमिटी बैठकमा छलफल हुने कुरा अध्यक्ष प्रचण्डबाट आएपछि शितलनिवासबाट बाहिरियौं । विधि, पद्धति, जनता र देशहितको लागि पाइला बढिरहने छन् ।’ निवेदन दर्ता गराउन नेता रावल र पम्फा भुसाल शितलनिवास पुगेका थिए ।
यसअघि कांग्रेसका चर्चित नेता गगन थापाले समेत संसद अधिवेशन बोलाएर प्रधानमन्त्री ओलीलाई बाँध्न सकिने विचार व्यक्त गरेका थिए । कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले समेत संसद अधिवेशन छिटो बोलाउन माग गरेको छ । तर नेकपाभित्र सहमति गर्ने निहुँमा अध्यक्ष प्रचण्डले संसद अधिवेशन बोलाउने मागलाई छाडेका छन् । पदको भागबण्डा मिलाउने सहमति गर्दै पुनः ओलीसँगै मिलेका छन् प्रचण्ड ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।