काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सांसदका हस्ताक्षरसहित तयार पारेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शितलनिवास पुर्यायो ।
नेकपाकै अध्यक्ष तथा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशमार्फत देश चलाउन खोजेका बेला प्रचण्ड–नेपाल पक्षको कदम सही थियो ।
त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले समेत संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका थिए । संसदको अधिवेशन अन्त्य भएको लामो समयसम्म पनि सरकारले अधिवेशन आह्वानका लागि सिफारिस गरेको छैन । बरु ओलीले अध्यादेश ल्याएर देश चलाउन खोजेका छन् ।
मंगलबार संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सबैले संसद अधिवेशन बोलाउन माग गरेका थिए ।
कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएर संसद अधिवेशन बोलाउन माग गर्ने औपचारिक निर्णय नै गरेको छ । जसपाले प्रेस विज्ञप्ति जारी गर्दै संसद अधिवेशनको माग गरेको छ ।
जनताका प्रतिनिधिको साझा थलो संसदमा छलफल गर्न सकिने गरी अधिवेशन बोलाउन प्रधानमन्त्री ओलीमाथि दबाब परिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डले गद्दारी गरेका छन् । प्रचण्डले गरेको गद्दारीका कारण संसद बोलाउने माग प्रतिपक्षमै सीमित हुन पुगेको छ ।
प्रचण्डले विवादित अध्यादेशसँग सम्मानित संसद अधिवेशन साटेका छन् । अध्यक्षद्वय ओली र प्रचण्डबीच अध्यादेश फिर्ता लिने र संसद बैठक नबोलाउने सहमति भएको छ ।
ओली–प्रचण्डबीच भएको सहमतितर्फ लक्षित गर्दै पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘ आजको यक्ष प्रश्नः २ जनाले एकअर्काका भ्रष्टाचार, गैरकानूनी र अनैतिक हर्कत सार्वजनिक गर्ने र पछि फच्चे भयो अब बाँडीचुँडी खाऊँ भन्छन् भने तेश्रो पक्षले के गर्नुपर्ला ? उनीहरूको आन्तरिक मामिला हो जेसुकै गरून् भन्ने कि यो राज्यको र नागरिक चासोको विषय भएकाले हस्तक्षेप गर्ने ? गम्भीर बनौं !’
प्रचण्डले गद्दारी गरेर संसद अधिवेशन बोलाउने माग छाडेपनि कांग्रेसले भने नछाड्ने भएको छ । कांग्रेसको बुधबार बसेको पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ । यसबारे थप निर्णय लिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
‘संवैधानिक परिषद् सम्बन्धि जारी अध्यादेश एवं अन्य समसामयिक राजनैतिक बिषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११.०० बजे बोलाउने निर्णय बैठकले गरेको छ,’ कांग्रेसले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।