काठमाडौं – प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् ।
नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास निरन्तर असफल हुँदै आएका छन् ।
मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधवार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे । भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै २ अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए । तर दाहालले सो विषयलाई खासै महत्त्व दिएनन् ।
मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले प्रचण्डलाई भेटेका थिए । उनले त्यतिबेला बैठक रोकेर सहमतिका लागि आग्रह गरेका थिए । तर दाहालले यो कुरा बैठकमै राख्न भनेपछि ओलीले कुनै जवाफ फर्काएका थिएनन् ।
बुधवारको भेटघाटमा पूर्व एमालेका नेताहरूको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आईतवारको बैठकअघि पनि प्रचण्डसँग निरन्तर सहकार्यको प्रस्ताव राखेका छन् ।
शनिवार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए । स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले दुवै अध्यक्ष मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने र पार्टी एकताको भावनाअनुसार अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।
ओली पक्षले धेरैपटक गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई कार्यान्वन गर्ने र त्यही निर्णयलाई सहमतिको आधार बनाउनुपर्ने धारणा राख्दै आएका बेला मुख्यमन्त्री पोखरेलले पनि त्यही विषयलाई सहमतिको आधार बनाएर अघि बढ्नुपर्ने, त्यसका लागि प्रधानमन्त्री ओली तयार रहेको सन्देश सुनाएका थिए । तर त्यही भेटमा दाहालले प्रधानमन्त्री ओलीले आफूसँग सल्लाह नै नगरी एकलौटी रूपमा संवैधानिक आयोगका पदाधिकारीको टुंगो लगाउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।
जवाफमा पोखरेलले प्रधानमन्त्रीले संवैधानिक आयोगमा नियुक्तिको विषयमा कुराकानी गर्न पनि चाहेको सन्देश प्रवाह गरेका थिए ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश वाहकका रूपमा गएका २ नेता शंकर पोखरेल र सुवास नेम्वाङलाई कार्यकारी अध्यक्ष दाहालले विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँबाटै निर्णय हुने बताएका थिए ।
पोखरेलपछि आईतवार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए । उनले पनि पोखरेलकै शैलीमा दुवै अध्यक्ष मिलेर पार्टी र सरकार सञ्चालन गर्नुपर्ने बताएका थिए । ‘दुवै अध्यक्ष मिलेर पार्टी र सरकार सञ्चालन गर्नुपर्छ । पार्टी एकताको मर्म र भावना पनि त्यही हो,’ नेम्वाङले प्रस्ताव गरेका थिए, ‘भदौ २६ गतेको निर्णय कार्यान्वयन गरेर जाऔं, यसो गर्दा कसैलाई पनि अप्ठ्यारो पर्दैन । पार्टीको नेतृत्वका लागि आगामी महाधिवेशनसम्म कुरौं, अहिले पार्टी एकता मजबुत बनाउने समय हो । दुवै अध्यक्षको असहमतिले कार्यकर्तामा निराशा छाएको छ ।’
स्थायी कमिटीको बैठकअघि नेम्वाङले प्रचण्डलाई भेटेका थिए । आईतबारको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका थिए । ‘मैले आईतवार बिहान कार्यकारी अध्यक्षलाई भेटें । उहाँ पार्टी एकताबारे निकै सकारात्मक हुनुहुन्छ । त्यस्तै प्रधानमन्त्री ओली पनि यो विषयमा चिन्तित हुनुहुन्छ,’ संसदीय दलका उपनेता नेम्वाङले भने, ‘दुवैजना पार्टी एकतालाई मजबुत बनाउने विषयमा चिन्तित रहेको पाएँ ।’
ओलीको सन्देश वाहकका रूपमा गएका २ नेतालाई प्रचण्डले विवादको विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहीँबाटै निर्णय हुने बताएका थिए ।
आईतवारको बैठक पनि पुस १ गतेसम्म स्थागित भएपछि अहिले दुवै पक्षका नेता आ–आफ्नो तयारीमा लागे पनि प्रधानमन्त्री ओलीनिकट नेताहरू ओली र दाहाल दुवैले राखेका प्रस्तावलाई विस्थापन गरेर दुवैको सहमतिमा साझा प्रतिवेदन ल्याउनुपर्ने अभ्यासमा समेत केन्द्रित भएका छन् । तर यो विषयमा नेम्वाङ र पोखरेलले भने प्रचण्डलाई केही बताएका छैनन् ।
नेकपामा पछिल्लो समय प्रधानमन्त्री ओली र दाहालले आ–आफ्नो गुटका बैठक जारी राखेका छन् । आईतवार झापामा प्रचण्ड–नेपाल समूहले विद्यार्थीको भेला राखेको थियो भने शनिवार ओली समूहले विराटनगरमा युवा विद्यार्थीहरूको भेला गरेको थियो ।
आईतवारको स्थायी कमिटी बैठकमा गुट भेलाबारे कुनै पनि विषय उठेको थिएन । आईतवार नेकपाका केन्द्रीय सदस्य कामनसिंह लामाको निधनबारे शोक प्रस्ताव पारित गरेर सकिएको थियो । आईतवारको बैठकमा प्रचण्डले प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठबारे कमानसिंह लामाको परिवारले उठाएको विषयवस्तुबारे सामान्य चर्चा गर्दै नारायणकाजी श्रेष्ठ निर्दोष रहेकाले उनीबारे अनर्गल प्रचार नगर्न आग्रह गरेका थिए ।
‘अध्यक्ष प्रचण्डले लामा र एउटा हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर जुन प्रचार भएको छ, त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न अनुरोध गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।