काठमाडौं – भारतसँग सम्बन्ध सुधारको भरमग्दुर प्रयास गरिरहेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका विभिन्न खुफिया प्रतिनिधि, सुरक्षा प्रमुख, प्रशासक र राजनीतिक नेताहरूलाई काठमाडौंमा स्वागत गरिसकेको छ ।
भारतको खुफिया एजेन्सी रअ प्रमुखलाई बालुवाटारमै बोलाएर भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि भारतीय स्थल सेनाध्यक्ष, विदेश सचिव र भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुखसम्मलाई भेटिसकेका छन् ।
भारतीयलाई काठमाडौंमा स्वागत गर्ने मात्रै होइन, कम्युनिस्ट सरकारका मन्त्रीहरू समेत भारत जान हुरुक्क परेर बसेका छन् । भारत जान ठिक्क परेर बसेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई धक्का लागेको छ ।
ज्ञवाली सहभागी हुने भनिएको २ देशका परराष्ट्रमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने नेपाल–भारत संयुक्त आयोगको बैठक अझै अनिश्चित छ । डिसेम्बर १५–१६ तारिखमा बैठक बस्ने भनेर मन्त्री ज्ञवाली भारत जान ठिक्क परेका थिए । तर बैठक केही पर सरे पनि मिति तय भएको छैन ।
हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले संयुक्त आयोगको बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको निमन्त्रणा पत्र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । डिसेम्बर १५–१६ तारिखमा आयोगको बैठक बस्ने विषयमा २ पक्षबीच कुराकानी भएको थियो ।
बैठकका एजेन्डाहरू तय गर्न परराष्ट्र मन्त्रालयले सरोकारवाला पक्षसँग कुराकानी पनि गरिरहेको छ । तर मन्त्री ज्ञवालीको बैठक अनिश्चित बनेको छ ।
परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेबारे मन्त्रिपरिषद् बैठकले समेत कुनै निर्णय गरिसकेको छैन ।
ज्ञवालीको भारत भ्रमणको सम्बन्धमा सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘संयुक्त आयोगको बैठकका लागि नेपालका परराष्ट्रमन्त्रीले छिट्टै भारतको भ्रमण गर्नुहुनेछ तर मिति भने अझै तय हुन बाँकी रहेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।