काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै नभेट्ने र पार्टी बैठकमै विवादको छिनोफानो गर्नुपर्ने अडान लिए । एक्लै भेट्दा सहमति नभएको अनुभवसहित प्रचण्ड ओलीलाई एक्लै नभेट्ने निष्कर्षमा पुगेका थिए ।
तर बुधबार दिउँसो प्रचण्ड ओलीलाई भेट्न सुटुक्क बालुवाटार छिरेका छन् । पार्टीको विवाद झन्झन् बढिरहेको देखिएका बेला प्रचण्ड सुटुक्क बालुवाटार छिरेपछि सबै चकित भएका छन् ।
पछिल्लो समय दुवै अध्यक्षबीच लिखित रूपमै आरोपप्रत्यारोप चलिरहेको छ । यसअघि मंसिर १६ गते पार्टी सचिवालय बैठक बस्नुअघि २ अध्यक्षबीच बालुवाटारमै छोटो छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन ।
प्रचण्डकै जोडबलमा मंसिर २१ गते भएको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित रहे । ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल हुने बैठकमा उपस्थित नहुने स्पष्ट अडान पत्रमार्फत बैठकमै राखे । ओली र प्रचण्डबीच विवाद कायमै रहेका बेला प्रचण्ड सुटुक्क बालुवाटार छिर्नुलाई नेकपाभित्रै अनौठो रूपमा हेरिएको छ ।
नेकपा स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने एजेण्डा तय गरेर मंसिर २८ गतेसम्मलाई बैठक स्थगित गरेको छ । २ अध्यक्षबीच टकराव भएका कारण नेकपा विभाजनकै संघारमा पुगेको चर्चा भइरहेका बेला दुवै अध्यक्ष छलफलमा जुटेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।