काठमाडौं – जनयुद्धको नाममा तत्कालीन नेकपा माओवादीका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिकाएको हत्याहिंसाको द्वन्द्व नेपालमा फेरि ब्यूतिन थालेको छ ।
कुनै बेला प्रचण्डकै वरिपरि हुर्किएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेका छन् ।
प्रचण्डले आफू शान्तिप्रक्रियामा आएको दाबी गरेपनि उनीबाटै हत्याहिंसा र अपराध सिकेकाहरू अझै सक्रिय रहेका छन् । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ ।
मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमवार बिहानै विप्लव नेकपाका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेपछि हत्या गरिएको पाइएको छ । शिक्षक श्रेष्ठको शव घरबाट केही पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । विप्लवले दुर्गम गाउँमा हत्याहिंसाको राजनीति सुरू गरेपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।
मधुमल्लाबाट प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा खटिएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको छ । शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । श्रेष्ठको हत्यापछि विप्लव नेकपाका कार्यकर्ता हवाई फायर गर्दै हिँडेको हुनसक्ने कार्कीले अनुमान गरे ।
प्रचण्डले सिकाएको गलत राजनीतिको असर भविष्यमा पनि देखिने संकेत देखिएका छन् । प्रचण्ड अहिले सत्तारुढ नेकपाभित्र रडाको मच्चाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।