काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई हटाउने गरी तयारी गरेको बालुवाटारको निष्कर्ष छ ।
प्रचण्डले तयार पारेर स्थायी कमिटी बैठकमा छलफलको प्रक्रियामा रहेको प्रतिवेदनमा ओलीले त्याग गर्नुपर्ने उल्लेख छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्पष्ट बहुमत रहेको स्थायी कमिटीबाट प्रतिवेदन पारित भएमा ओलीले राजीनामा दिनुपर्नेछ ।
पार्टीभित्रै गम्भीर संकटमा रहेका बेला ओलीले भोलि मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । पार्टीभित्र झमेला परेका बेला ओलीलाई अन्य दलले साथ देलान् ? राजनीतिक वृत्तमा बहस सुरू भएको छ ।
एकातिर देशभर राजावादीको आन्दोलन बढेको छ भने अर्काेतिर ओली पार्टीभित्रै अल्पमतमा परेका छन् । यस्तो गम्भीर संकटबाट मुक्ति पाउन ओलीले सर्वदलीय बैठक बोलाएको नेकपा स्रोतले जनाएको छ । तर पार्टीभित्रै कुरा नमिलाई अरुसँग सहयोग माग्नु उचित नहुने स्रोतले जनाएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्नका लागि ओलीले मंगलवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीले मंगलवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको जनाएका छन् ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरू एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् । नेकपा नेता जनार्दन शर्माले राजावादीसँग ओली सरकारको साँठगाँठको शंका गर्दै स्थायी कमिटीमा छुट्टै प्रस्तावन नै पेश गरेका छन् । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापासहितमा समेत राजावादीको ठूलो प्रदर्शन भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।