काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादबीच आईतबार बसेको स्थायी कमिटी बैठकमा सहभागी नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको लिखितपत्र पेश भयो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको पत्र स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाए ।
ओलीको पत्र सुनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा कडा जवाफ दिएका छन् । प्रचण्डले पार्टी कमिटीको बैठक बोलाउन निवेदन हाल्नुपर्ने परिस्थिति लज्जास्पद रहेको जवाफ दिएका छन् ।
धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले एक जनाको जिद्दीका कारण पार्टी नै समाप्त हुन लागेको र बैठक बोलाउन समेत निवेदन हाल्नुपर्ने लज्जास्पद परिस्थिति पैदा भएको जवाफ दिए ।
प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि अपमान गरेको आरोप लगाएका छन् । ‘पार्टीको अवस्था यस्तोसम्म आयो कमरेडहरू, बैठक बोलाउन पनि निवेदन हाल्नुपर्ने परिस्थिति सिर्जना भयो । यो अत्यन्तै लज्जाजनक परिस्थिति हो । यसरी न पार्टी उभो लाग्छ न त देश नै,’ प्रचण्डले बैठकमा भने ।
प्रचण्डले बैठकमा ‘त्याग’को प्रसंग समेत सम्झाएका थिए । ‘गणतन्त्रका लागि सबैले त्याग गर्नुपर्छ, त्यो ओलीजीले मात्र गर्नुपर्छ भनेको होइन,’ उनले बैठकमा भने, ‘जसले जहाँ आवश्यक पर्छ, उसले त्यहाँ त्याग गर्नुपर्छ ।’ प्रचण्डले आफूले पटक–पटक त्याग गरेको र आवश्यक पर्दा अझ बढी त्याग गर्ने समेत बताएका छन् ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीले पठाएको पत्र वाचन गरेका थिए । ओलीले सचिवालयमा पेश गरेको प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने अडान लिएका छन् ।
‘खेलको उत्तरार्धमा आएर केही कमरेडहरू खेलको नियम नै बदल्न लाग्नुहुनेछ र जसरी पनि जित्ने महत्त्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म पनि जान तयार हुनुभएको छ,’ ओलीले पत्रमा भनेका छन्, ‘खेलको अन्तिमतिर आएर गर्न खोजिएको नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्र होइन, विभाजनकारी समेत छ भनेर मैले दोहोर्याउन चाहन्छु ।’
आफूले खारेज गरिसकेको प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने बैठकमा सहभागी नहुने समेत ओलीले अडान लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।