बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बालुवाटारभित्र तनाव : केपी ओलीलाई फाइदा पुर्‍याउने यस्तो ‘कार्ड’ बामदेवबाट सिधै खारेज

बालुवाटारभित्र तनाव : केपी ओलीलाई फाइदा पुर्‍याउने यस्तो ‘कार्ड’ बामदेवबाट सिधै खारेज

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 6.7K
    SHARES

  • बालुवाटारभित्र तनाव : केपी ओलीलाई फाइदा पुर्‍याउने यस्तो ‘कार्ड’ बामदेवबाट सिधै खारेज

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादले प्रधानमन्त्री केपी शर्मा ओली संकटमा पर्दै गएका छन् । संकटबाट बच्न ओलीले अनेक उपाय समेत निकाल्दै आएका छन् ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा शनिबार भएको सचिवालय बैठकमा समेत ओलीलाई फाइदा पुर्‍याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एउटा कार्ड फाले । तर त्यो कार्डलाई उपाध्यक्ष बामदेव गौतमले खारेज गरिदिएका छन् ।

    सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव राखे । गृहमन्त्रीको प्रस्तावमा महासचिव विष्णु पौडेलले समर्थन जनाएका थिए ।

    नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि बादलको प्रस्तावलाई धेरै राम्रो भन्दै कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरे । ओलीले भने, ‘धेरै राम्रो कुरा गर्नुभयो । यो बामदेव कमरेडको नेतृत्वमा बनाऔं ।’ 

    उपाध्यक्ष गौतमको बोल्ने पालो आएपछि उनले आफू कार्यदलमा नबस्ने भनेपछि बालुवाटारमा तनाव उत्पन्न भयो । ‘म यस्तो कार्यदलमा बस्दिनँ । म फरक प्रस्ताव बोकेर आएको छु । यो कार्यदलले केही हुँदा पनि हुँदैन,’ उपाध्यक्ष गौतमले भने ।

    गृहमन्त्री बादलले ओलीमाथि आइलागेको संकट तत्कालका लागि टार्न कार्यदलको कुरा गरेको नेकपाका एक नेताले बताए । ‘कार्यदल यसअघि पनि महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको हो, कार्यदलको सुझावलाई प्रधानमन्त्रीले कार्यान्वयन गर्नुहुन्न । सुझाव कार्यान्वयन नगर्ने कार्यदल किन चाहियो ?’ ती नेताले भने ।

    ओलीले कार्यदलमा संकटलाई थन्क्याउने उपाय खोजेपनि त्यो सफल हुन सकेन । बरु अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेताहरूको योजना अनुसार भोलि आईतबार नेकपा स्थायी कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकमा ओलीविरुद्ध प्रचण्डले पेश गरेका प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सचिवालयमा जस्तै स्थायी कमिटीमा समेत प्रचण्ड पक्षको बहुमत रहेकाले ओलीविरुद्ध जेसुकै निर्णय पनि हुनसक्ने विश्लेषण नेकपाभित्र हुन थालेको छ ।

    सचिवालयमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले बहुमतका आधारमा पेलेरै स्थायी कमिटी बैठक गर्ने निर्णय गरेका छन् । स्थायी कमिटीको बैठक भोलि आईतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

    मंसिर १७ गतेको सचिवालय बैठकमा भने ओली सहभागी नभए पनि शनिबारको बैठकमा सहभागी थिए । तर बैठकमा ओलीका कुरा लागू भएनन् । प्रचण्ड पक्षले ओलीलाई पेलेरै जित्यो । ओलीले पार्टीका बैठक केही पर सारेर सहमति खोज्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतलाई खटाएर प्रचण्डसँग छलफल गराए पनि ओली सफल भएनन् । 

    आजको सचिवालय बैठकअघि पनि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वान टु वान वार्ता भएको थियो । पार्टीभित्र विवाद चर्किंदै गएपछि गत कात्तिक २५ गतेयता दुवै अध्यक्षबीच एक्लाएक्लै वार्ता हुन सकेको थिएन । त्यसयता भएका पार्टी सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव र जवाफले विवाद बढाउँदै लगेको छ ।

    ओलीसँग वार्ता गर्न अध्यक्ष प्रचण्ड दिउँसो १२ बजेदेखि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आजका लागि बैठक बोलाएको थियो । बुधवारको बैठकमा ओली सहभागी नभएपछि विवादित एजेन्डामा छलफल भएको थिएन । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।

    प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । गत शनिवारको बैठकमा प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको आरोप लगाएका थिए ।

    प्रचण्डले पेश गरेर अब स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावमा ओली सरकार असफल भएको, कार्यशैली ठीक नभएको, सरकारका गलत कामले पार्टीको बदनाम भएको आरोप लगाइएको छ । स्थायी कमिटीबाट प्रचण्डको प्रतिवेदन पारित भएमा ओलीको राजनीतिमाथि कलंक लाग्ने र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend