काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जतिसुकै विवाद भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमै बैठक र छलफल हुन्थे । ठूला निर्णय र छलफलका लागि नेताहरू बालुवाटारमै भेला हुन्थे ।
नेकपाको बागडोर बालुवाटारबाट केपी ओलीले नै चलाइरहेका थिए । तर अब नेकपाको बागडोर बालुवाटारबाट ‘आउट’ भएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा देखिएको नेकपाको निर्णय अब पार्टी कार्यालय धुम्बाराहीबाट हुनेछ । ओलीको इच्छा विपरीत भोलि आईतबार हुने निर्णय भएको स्थायी कमिटी बैठकले नेकपाको विवादबारे छलफल गर्नेछ ।
अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले ओलीबाट बागडोर खोस्ने थुप्रै प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । तर यसपालि प्रचण्ड पक्षको एकता बलियो देखिएको छ । लिखित रूपमै पार्टीमा प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओली समेत दबाबमा परेका छन् ।
नेकपाभित्र भएका विवादलाई अध्यक्षद्वय ओली र प्रचण्डले मात्रै छलफल गरेर टुंग्याउने कोसिस हुने विगतको अभ्यास अब अन्त्य भएको वरिष्ठ नेता खनालले खुलासा गरेका छन् । सचिवालय बैठकलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खनालले शीर्ष नेतामा देखिएका विवाद तल्लो कमिटीमा पनि औपचारिक रूपमा प्रवेश गराइएको जानकारी दिए । स्थायी कमिटी बैठकमा ओली र प्रचण्ड दुवैका प्रस्तावलाई आईतबार छलफलका लागि पेश गरिनेछ ।
शनिबार बसेको सचिवालय बैठकमा २ जना अध्यक्षको आरोप–प्रत्यारोप सम्बन्धी प्रस्तावमा छलफल गरेको भए पनि कुनै समाधान निकाल्न ननिस्किएपछि सबै प्रस्ताव भोलि आईतबार बस्ने स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘अब सबै कुरा नेकपाका कमिटीले नै निर्णय गर्छ,’ उनले भने । मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।