बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डको चट्टानी अडानले बालुवाटारमा खैलाबैला, विद्या भण्डारीले ओलीलाई बचाउन सक्लिन् ?

प्रचण्डको चट्टानी अडानले बालुवाटारमा खैलाबैला, विद्या भण्डारीले ओलीलाई बचाउन सक्लिन् ?

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 4.5K
    SHARES

  • प्रचण्डको चट्टानी अडानले बालुवाटारमा खैलाबैला, विद्या भण्डारीले ओलीलाई बचाउन सक्लिन् ?

    काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै २ अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ ।

    पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो ।

    कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिएर नयाँ प्रकारको सहमतिको विन्दु खोज्न ओली पक्षका नेताले आग्रह गरे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानेका छैनन् । राजनीतिक भविष्यमाथि नै दाग लाग्ने गरी दाहालले ओलीविरुद्ध आलोचनात्मक प्रस्ताव राखेपछि ओलीले पनि मंसिर १३ गते त्यसको लिखित प्रत्युत्तर फर्काएका थिए । त्यसपछि झनै चिढिएका प्रचण्डले आफ्नो प्रस्ताव पार्टीको कमिटीमा छलफल गराउने र त्यसलाई पास गराएरै छाड्ने अडान लिएपछि ओली समूहका नेताहरूले त्यसलाई फिर्ता गराएर संयुक्त दस्तावेज प्रस्तुत गर्नुपर्ने बताउँदै आएका छन् ।

    मंसिर २० गते शनिबार बैठक बस्नुअघि ओली पक्षका नेताले पटक–पटक भेटर छलफल गरेपनि दाहाल पक्षले उनीहरूका कुरा सुन्न पनि चाहेको छैन । ‘जे हुन्छ बैठकबाटै हुन्छ, निर्णय फिर्ता गर्नुपरे बैठकबाटै हुन्छ,’ प्रचण्डले भनेका थिए । तर ओली पक्ष केही दिन बैठक सारेर भए पनि सहमतिको आधार खोज्ने क्रममा रहेको जनाइएको छ । प्रचण्डले राखेको प्रस्ताव फिर्ता गराएर संयुक्त दस्तावेजको पक्षमा ओली पक्ष रहेको छ ।

    बिहीवार र शुक्रवार २ दिन नै ओली पक्षका नेताहरूले संयुक्त दस्तावेज नआए पार्टी एकता धरापमा पर्ने भएकाले कात्तिक २८ गते प्रस्तुत गरिएको प्रस्ताव फिर्ता गरी नयाँ दस्तावेज ल्याउन र त्यसका लागि केही दिन बैठक पर सार्न आग्रह गरेका छन् । तर प्रचण्ड आफूले राखेको प्रस्ताव फिर्ता गर्ने सोचमा नदेखिएपछि सहमतिको अर्को आधार नभएको भन्न थालिएको छ ।

    महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्ष प्रचण्डसँग भेटघाट गरी मनाउने प्रयास गरेका थिए । उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले खुमलटार पुगेर प्रचण्डलाई मनाउने कोसिस गरेका थिए । तर प्रचण्डले अडान छाडेका छैनन् ।

    ‘हामीले दुवै अध्यक्षलाई पार्टी विभाजनको दिशामा जान नदिनुस् भनेका छौं । एकअर्कालाई अविश्वास गर्दा समस्या आउँछ भनेका छौं । जनताको कुरा पनि सुनाएका छौं र पार्टी कमिटीमा छलफल गर्न कमजोरी समेटिएको संयुक्त दस्तावेज ल्याएर समस्या समाधान गर्नुस् भनेका छौं,’ खुमलटार पुगेका एक सचिवालय सदस्यले भने । ती सदस्यका अनुसार प्रचण्डले शुक्रबार साँझसम्म आफ्नो प्रस्ताव फिर्ता गर्ने मनसाय बनाएका छैनन् । ‘प्रस्ताव फिर्ता नभए झगडाको बिरुवाले झाँगिने अवसर पाउँछ । प्रस्ताव फिर्ता भए झगडाको बिरुवा बढ्दैन,’ ती सदस्यले भने, ‘यसैले पार्टी विभाजन नै होला त भन्न सकिन्न तर कालान्तरमा यही एउटा बिरुवाले शाखा पिराउने सम्भावना छ ।’

    बिहीवार र शुक्रवार महासचिव पौडेलले दाहालसँग भेटघाट गरी सबै विषयवस्तुबारे जानकारी गराएका थिए । स्थायी कमिटी सदस्य नेम्बाङले पनि ओलीका तर्फबाट बताउनुपर्ने जति सबै बताएका थिए ।

    पार्टीका २ नेताले भदौ २६ गते स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गरेर जाने नमिलेका सबै विषय मिलाएर जाने प्रस्ताव गरेका थिए । उनीहरूले २ अध्यक्षको सहकार्यबाटै पार्टी अघि बढ्ने समेत बताएका थिए । पार्टीको महाधिवेशनसम्म मिलेर जानुपर्ने र महाधिवेशनपछि नयाँ नेतृत्व चयन गर्नुपर्ने उनीहरूको प्रस्ताव थियो । 

    तर प्रचण्डले भदौ २६ गतेको निर्णय नै कार्यान्वयन नहँुदा समस्या आएको बताएका छन् । ‘उहाँलाई भदौ २६ गतेको निर्णय कार्यान्वयन गर्न कसैले पनि रोकेको थिएन तर निर्णय उल्लंघन गरेर अहंता देखाएपछि सबै विषयलाई कमिटीगत रूपमै निर्णय गरेर जानुपर्ने अवस्था आएको हो,’ प्रचण्डले ओली पक्षका नेताहरूसँग भनेका थिए ।

    प्रचण्ड–नेपाल पक्षका नेताहरू बैठकबाटै निर्णय गर्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले ओलीले बैठक छल्न खोजेको र बैठकबाट गराउनुपर्ने निर्णय २ अध्यक्षका बीचमा सहमति गराउने प्रयास गरिरहेको बताइन् । ‘अहिलेको समस्या २ अध्यक्षको मात्रै होइन, समग्र पार्टीभित्रको समस्या हो । त्यसकारण पार्टी अध्यक्षले बैठक छल्न खोजे सहमतिका नाममा अन्य उपाय अपनाएर पार्टीलाई अझ गम्भीर संकटमा पार्नु उपयुक्त होइन, समस्याको समाधान गर्ने थलो बैठक हो, त्यहीबाट समाधान खोज्नुपर्छ,’ उनले भनिन् । उनका अनुसार ओलीले बैठक छल्न खोज्नुपर्ने कुनै कारण छैन ।

    शुक्रवार दिनभर नै ओली पक्षका नेताहरूले आन्तरिक भेटघाटलाई जारी राखे । उपप्रधानमन्त्री पोखरेल दिनभरजसो नै बालुवाटारमा निकट नेताहरूसँग छलफलमा व्यस्त रहे । उनी शुक्रवार नै खुमलटार पुगेर कार्यकारी अध्यक्ष दाहालसँग छलफल गरेका थिए । उनले दुवै अध्यक्ष मिलेर जान र केही दिन बैठक स्थगित गरेर समस्याको समाधान निकाल्न आग्रह गरेका थिए । तर दाहालले दुवै अध्यक्ष मिलेर मात्रै समस्याको समाधान नहुने भएकाले सबै पक्षलाई मिलाएर लगे मात्रै समस्याको समाधान हुने जिकिर गरेका थिए ।

    प्रचण्डसँगको छलफलपछि पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनले राष्ट्रपति भण्डारीसँगको भेटमा पार्टीभित्रको विवादबारे छलफल गरेको स्रोतको दाबी छ । यसअघि बिहीवार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले राष्ट्रपतिसँग भेटघाट गरेका थिए ।

    पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दाहाल–नेपाल समूहले खुला रुपमा युवा विद्यार्थी भेला आयोजना गरेको छ । ओली पक्षले पनि मदन भण्डारी फाउन्डेसनका नाममा गुट भेला आयोजना गरिरहेका बेला प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले पनि काठमाडौंको थापाथलीमा भेला आयोजना गरी ओली पक्षको आलोचना गर्न भ्याएको छ । नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    पार्टी एकता नै संकटमा परेका बेला दाहाल–नेपाल समूहले युवा विद्यार्थीको भेला गर्नुलाई अर्थपूर्ण मानिएको छ । भेलामा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरू ठाकुर गैरे, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने सहभागी थिए । ओली पक्षले फाउन्डेसनका नाममा देशव्यापी रूपमा भेला आयोजना गरेकाले त्यसको ‘काउन्टर’मा दाहाल–नेपाल समूहले पनि गुट भेला गरेको जनाएको छ । भेला आयोजकमा दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरू रञ्जित तामाङ, सुदेश पराजुली, वासिम आलमलगायत सहभागी रहेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend