काठमाडौं – नेकपाभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको बहुमत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नबसाउने, बैठकमा सहभागी नहुने र अनेक बहाना गर्दै पार्टीलाई अनिर्णयको बन्दी बनाउने गर्दै आएका छन् ।
ओलीले बैठक नै नबोलाउने र प्रचण्डले एकल रुपमा बैठक गर्न नसक्ने भएपछि नेकपा सचिवालयका ५ जना नेताहरू प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित रूपमै ओलीसँग बैठकको माग गर्नुपरेको थियो ।
लिखित रूपमा बैठक बोलाउन माग गरिएपछि बल्ल शुरू भएको सचिवालय बैठकमा फेरि ओली सहभागी नहुने रोग दोहोरिएको छ । ओली विनाको बैठकमा प्रचण्ड पक्षले बहुमतका आधारमा निर्णय गर्न सकिरहेको छैन । नेकपा अनिर्णयको बन्दी भइरहेको छ ।
पछिल्लो सचिवालय बैठकले भोलि मंसिर २० गते शनिबार बस्ने सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको थियो । प्रचण्ड पक्ष भोलि बैठक गर्ने सुरसारमा छ । तर ओली पक्ष भने भोलिको बैठक पनि सार्ने लविङमा लागेका छन् ।
मंसिर १७ गतेको बैठकलाई मंसिर २० गतेसम्म सार्न ओली पक्षीय नेताहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले प्रचण्डलाई राजी गराएका थिए । प्रचण्डले बैठक सार्ने कुरा गर्दा वरिष्ठ नेता नेपाल लगायत असन्तुष्ट बनेका थिए । तर ओली पक्ष फेरि बैठक सार्ने चालबाजीसहित तीब्र भेटघाटमा लागेको नेकपा स्रोतले जनाएको छ । बैठक सार्न सकेमा बहुमतका आधारमा निर्णय गर्ने प्रचण्ड पक्षको योजना केही समयका लागि भएपनि ‘फेल’ हुने ओली पक्षको बुझाइ छ ।
भोलि बस्ने भनिएको सचिवालय बैठकको पूर्व सन्ध्यामा ओली पक्षका नेताको दौडधुप तीब्र भएको छ । दलका नेताहरू मात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारी पनि ओलीको पक्षमा सक्रिय छिन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत नेताहरूले भोलिको बैठकमा ओली उपस्थित नभए पनि विधानको धारा ६० अनुसार बैठक अघि बढाउनुपर्ने र पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउँदै आएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ओली भोलि शनिबारको बैठकमा पनि अनुपस्थित भए विधि–पद्धति अनुसार निर्णय गरेर अघि बढ्ने बताएका छन् । तर ओली पक्षको जोडबल भने २–४ दिन बैठक पर सार्ने पक्षमा छ । अध्यक्षद्वय ओली र प्रचण्डले आपसमा सहमति गर्न सकिने तर्क ओली पक्षले गरिरहेको छ । तर लामो समयसम्म दुवैबीच एक्लाएक्लै भेट हुँदा पनि सहमति हुन सकेन ।
प्रचण्डलाई फकाएरै फेल बनाउने बालुवाटारको मिसन अन्तर्गत शुक्रबार बिहान ईश्वर पोखरेलले प्रचण्डलाई भेटेर दुवै अध्यक्ष मिल्नुपर्नेमा जोड दिएका छन् । प्रचण्डले सहमतिमा जान आफू तयार रहेको बताएको जनाइएको छ ।
बिहीबार प्रचण्डलाई भेटेका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि कुलिङ पिरियड अझै लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । बिहीबारै महासचिव विष्णु पौडेलले समेत प्रचण्डलाई भेटेका थिए । सबैले भोलिका लागि निर्धारित बैठक सार्नुपर्नेमा जोड दिएका नेकपा स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।