काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीको दूत बनेर उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
भोलि शनिवारका लागि बोलाइएको नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले प्रचण्डसँग सहमति गर्न धेरै प्रयास गरेका छन् । तर प्रचण्डले बैठकमै छलफल हुनुपर्ने अडान लिएका छन् ।
शुक्रवार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ओलीको सन्देश बोकेर पोखरेल खुमलटार पुगेका नेकपा स्रोतले जानकारी दिएको छ । बिहीबार राति उपप्रधानमन्त्री पोखरेलले ट्विट गर्दै नेकपा संकटमा बिहानीको संकेत गरेका थिए ।
उनले ट्विट गर्नुअघि बालुवाटारमा लामो समय रातिसम्मै मन्त्रिपरिषद् बैठक बसेको थियो । पोखरेलले ट्विटरमा लेखे, ‘नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ – संकटको मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ !’ बालुवाटारमा मन्त्रिपरिषद् बैठक हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
मन्त्रिपरिषद् बैठक चलिरहँदा शितलनिवासमा राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समेत छलफल चलिरहेको थियो ।
मंसिर २० गते बोलाइएको नेकपा सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएपनि नेकपा संकट कतातिर जाने हो निश्चित भइसकेको छैन ।
संकटको मध्यरातमा रहेको नेकपामा बिहानी कसरी आउने हो ? स्पष्ट भइसकेको छैन । बिहीवार नेकपा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने इच्छा व्यक्त गरेका थिए । नेकपाको सचिवालय बैठक भोलि शनिवार दिउँसो १ बजे तय गरिएको छ । त्योभन्दा अघि ओली पक्षले प्रचण्डलाई मनाउने प्रयास गरिरहेको छ । प्रचण्डले ओलीको राजीनामा आउनुपर्ने मुख्य अडान लिँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।