काठमाडौं – गत शनिवारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेपनि उनीमाथिको संकट टर्ने सम्भावना देखिँदैन । पार्टीका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक नजिकिँदै गर्दा ओलीमाथि एकपछि अर्काे संकट आउने विश्लेषण हुन थालेको छ ।
नेकपाले भोलि मंगलबार सचिवालय बैठक र मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता गराउने वा संशोधन गराउने रणनीति लिएको छ । तर यस्तो सम्भावना नरहेको नेकपा नेताहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीले समेत लिखित जवाफमा प्रचण्डले प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव तयार गर्नुपर्ने सुझाव दिएका छन् । तर प्रचण्ड पक्ष भने आफ्नो प्रस्तावमा अडिग देखिएको छ । प्रचण्ड पक्षले आफ्नो प्रस्ताव स्थायी कमिटी बैठकमा पेश गरेर निर्णयार्थ प्रस्तुत गर्ने रणनीति लिएको छ ।
पार्टी बैठकमा लिखित रूपमै विवादमा उत्रिएका दुवै अध्यक्षहरू आफ्नो रणनीति सफल पार्ने योजनामा लागेका छन् । ओली र प्रचण्ड पक्ष आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त रहेका छन् ।
अध्यक्ष प्रचण्ड पक्षले सचिवालय बैठकमा पेश भएका सबै लिखतहरू स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । प्रचण्डले पेश गरेका सबै लिखित कागजातमा ओलीलाई संगीन आरोप लगाइएको छ । ओली सरकार असफल भएको, भ्रष्टाचारमा डुबेको लगायत दाबी गरिएको छ । प्रचण्डको प्रतिवेदन देखेर ओली पक्ष आक्रोशित छ ।
तर प्रचण्ड पक्षले भने आफ्ना प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकबाट पारित गराएर ओलीमाथि दबाब बढाउने र नैतिक संकटमा पार्ने रणनीति लिएको स्रोतले जनाएको छ । प्रचण्डका प्रस्ताव हुबहु पार्टीबाट पारित भएमा ओली प्रधानमन्त्री पदमा रहिरहन नसक्ने भएकाले ओलीलाई हटाउने प्रचण्ड पक्षको रणनीति रहेको जनाइएको छ । प्रचण्ड पक्षमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
सचिवालय बैठकको माग गर्दै प्रचण्ड पक्षका ५ नेताले कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र विवाद चर्किएको छ । कात्तिक २८ गते प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्दै १९ पृष्ठको प्रस्ताव पेश गर्दै ओलीमाथि गम्भीर आरोप लगाएका थिए । त्यसको जवाफमा शनिवारको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफ पेश गरेका छन् ।
ओली र प्रचण्डमध्ये कसको प्रस्ताव सही भनेर बहुमतबाट निर्णय गराउने पक्षमा प्रचण्ड पक्ष रहेको छ भने ओली पक्ष बहुमतबाट डराइरहेको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड पक्षको बहुमत रहेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।