काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पीडातर्फ ध्यान नदिएको गुनासो पोखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो माहामारीका बेला पार्टीको विवादबाहेक केही नगरेको भन्दै आक्रोश पोखेका हुन्। नेता थापाले यस्तो संकटका बेला जनताका लागि अलिकति भए पनि केही किसिमको राहत गर्न भन्ने संकेत गरेका छन् ।
कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएसँगै नेता थापा १२ दिनदेखि होम आइसोलेसनमा रहेका छन् ।
‘यो १२, १३ दिनमा प्रधानमन्त्रीको प्राथमिकता हेर्दै गर्दा प्रचण्डसँगको भेटवार्ता, आफ्नो झगडा, नेता मिलाउने प्राथमिकता, लुम्बिनी प्रदेश प्राथमिकता, त्यसपछि अहिले कर्णाली प्रदेशमा झगडा मिलाउने कुरा, मन्त्रिमण्डल पूनर्गठनको कुरा। मन्त्रिमण्डल पुनर्गठन भएपछि पार्टीा अर्को थरी नेता रिसाउने अर्को १५ दिन अर्कोलाई ढाल्ने यो भन्दा बाहेक जनतालाई जुन कुराले पोलेको छ प्रधानमन्त्रीलाई कुनै पनि कुराले छोएको छैन,’ आफ्नो फेसबुकमा भिडियो सन्देश छोड्दै थापाले भने, ‘हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन। मन छैन। प्रधानमन्त्रीसँग मुटुनै रहेनछ। मनै छैन। यत्रो कुरा हुँदै गर्दा फेरी दुख्दा पनि नदुख्ने, पोल्दा पनि नपोल्ने छुँदा पनि नछुने भएपछि प्रधानमन्त्रीसँग मुटु छैनभन्दा अत्युक्ति हुँदैन।’
सरकारले सामुदायिक आइसोलेसन नबनाएर जनतालाई थप समस्यामा पारेको पनि उनले बताए। ‘कोरोना भाइरसबाट संक्रमित भएर विगत १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेको छु। नवौँ, दशौँ दिनमा ज्वोरो, खोकीलगायत लक्षणहरु देखिएको हुनाले गर्दा चिकित्सकहरुले अरु केही दिन हेर्ने र त्यस पछाडि मात्रै अर्को परीक्षण गर्ने भन्नुभएको छ। त्यही कुरेर बसिरहेको छु।
म बुवा आमा, श्रीमती, छोरीलगायत नौ जना कोभिड पोजेटिभ देखिएसँगै घरमा होम आइसोलेसनमा छौँ। तपाईंहरुको शुभेच्छा आशीर्वादले गर्दा अहिलेसम्म कसैलाई त्यस्तो गाह्रो केही भएको छैन।
आशा छ केही दिनभित्र हामी सबै संक्रमण मुक्त हुनेछौँ,’ उनले भनेका छन्, ‘१२र१३ दिनदेखि घरमा यसरी आइसोलेसनमा बसिरहँदा मनमा केही कुराहरु खेल्ने रहेछन्। खेलिरहेका छन्। हामीहरु आफ्नै घरमा बसिरहेका छौँ। हाम्रै आफ्नै घर छ, परिवारका सदस्यहरु छन्। तर, पनि यो आइसोलेसनमा बस्ने कुरा परिवारका सदस्यहरुलाई जो कोरोना पोजेटिभ हुनुहुन्न। मेरो ठूलो छोरी पोजेटिभ छैन, क्वारेन्टाइनमा राख्न यति धेरै गाह्रो भइरहेको छ। अनि म सोच्छु कोठामा बस्ने या कोठामै बस्न नपाउनेको अवस्था के भइरहेको होला ?’
उनले यस्तै अवस्था आउँदै गर्दा संक्रमितलाई सजिलो होस् भनेर फागुन २३ गते संसदमा सामुदायिक आइसोलेसनको विषय उठाएको पनि बताए। ‘सामुदायिक आइसोलेसन भयो भने अस्पताल जानु नपर्ने र अरुलाई संक्रमण नहोस् भनेर आइसोलेट हुनुपर्ने मान्छे राख्न सजिलो हुन्छ भनेर । त्यहाँ मात्रै होइन प्रधानमन्त्रीलाई भेटेर, मेयरहरुलाई भेटेर भनेको सम्झन्छु।’ उनले भने, ‘हामीहरुलाई अस्पताल जानु परिरहेको छैन। जानु नपरोस् प्रार्थना यही गरिरहेको छु। अस्पताल जानुपर्ने अवस्था भयो भने काठमाडौंमा एउटा अस्पतालमा कहीँ पनि बेड छैन भन्ने मलाई राम्रोसँग थाहा छ।
प्रत्येक दिन निर्वाचन क्षेत्रको अन्य क्षेत्रको, काठमाडौैंभन्दा बाहिरको साथीहरुसँग टेलिफोनमा कुराकानी गरिरहेको छु। हामीलाई सिस्टम चाहिएको थियो। फागुनमै उक्त कुराहरु भनिएको म सम्झन्छु। सिस्टम कसरी बनाउने भनेर, कराएँ, लेखेर, भेटेर चिच्याएर भनेको सम्झन्छु। भनेको कुरा किन नसुनेको होला भनेर मन पोलिरहन्छ। ’
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘हामी सबैभन्दा धेरै जिम्मेवारी प्रधानमन्त्रीले लिएको होइन रु प्रधानमन्त्रीलाई पोल्नु पर्ने होइन रु प्रधानमन्त्रीलाई यसले दुख्नुपर्ने होइन रु छुनुपर्ने होइन रु अहिले कोरोनाको कारण प्रभावित भएको स्वास्थ्य क्षेत्र छ। त्यहाँ भित्र पनि ननकोभिड अन्य रोगहरुको उपचार व्यवस्था अस्तव्यस्त भएको छ। उता आर्थिक क्षेत्र तहसनहस भएको छ। मान्छेहरु हजारौँ संख्यामा बेरोजगार भएका छन्। हिजो अलिकति स्वरोजगार भएका मान्छेहरु कंगाल सडकमा आइपुगेका छन्।’
प्रधानमन्त्री तालमा र स्वास्थ्य मन्त्रालय बेतालमा रहेको भन्दै उनले व्यंग्य पनि गरे। ‘यो बीचमा मैले हेरेँ सरकारले भन्यो काठमार्डौंको सबै अस्पताललाई कोभिड अस्पताल बनाउछौँ। अनि ननकोभिडको उपचार कहाँ गएर गर्ने रु उनीहरुको अवस्था के हुन्छ रु’ उनले भने, ‘सजिलैसँग काठमाडौंभित्र यति धेरै मेडिकल कलेज छ, यी केको प्राइभेट पब्लिक अहिले। यी मेडिकल कलेज लिनुस् त्यहाँ भित्र सयौँ बेड छ। हामीसँग एकै पटक २ हजार ३ हजार बेड भएको अस्पताल उपलब्ध हुन्छ। कोभिड अस्पताल बनाउन सकिन्छ। त्योबाहेक पनि काठमाडौंमा कम्युनिटी आइसोलेसन बनाइयो भने सहज हुन्छ। काठमाडौंका मेयरले भदौमै बनाइसक्छु भनेको कम्युनिटी आइसोलेसन कहाँ गयो त्योरु !
उनले सामुदायिक आइसोलेसन बनाएर संक्रमित त्यहाँ राख्न, अझ बढी टेष्ट गर्न र संक्रमितलाई अक्सिजन चाहिने अवस्था आयो भने मेडिकल कलेजसँग लिएको बेडमा राख्न पनि सुझाव दिए। ‘अहिले लहडमा आएर एउटा जोस चल्यो एउटा निर्णय गर्यो, अर्कालाई जोस चल्यो अर्को निर्णय गर्यो। आजको अवस्था हेरेर निर्णय गर्यो दुई तीन महिनाको अवस्था आकलन गर्न पनि सकेन।'
अरु कसैले सुझाव दियो भने नानाभाँती गालीमात्रै गर्यो । अनेकन गलत कुरा गरेर ढाकछोप गर्यो। अहिले पनि गर्न सकिने ठाउँ छ। समय घर्कीएको । हामीसँग स्रोत छ र साधन छ। अहिले सरकारको सफलतासँग हामी सबैको सुरक्षा जोडिएको छ’ उनले भने।
उनले संसारमा नेपालको जस्तो असंवेदनशील शासक कतै नभएको पनि बताए। ‘मलाइ लाग्छ संसारमा यस्तो कुनै शासक छैन होला यस्तो असंवेदनशील छ। हामीले क्रूर भनेको शाशकले पनि यो बेलामा असंवेदनशील कहीँ छैन।’ उनले नजिकिएको चाडबाडमा सजक हुन पनि सुझाव दिए। स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि सबैलाई उनले आग्रह गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।