सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसले ९ अर्ब बाँडेर खायो भनेपछि बाबुरामलाई संकट, पार्टीले दियो यस्तो चुनौती

कांग्रेसले ९ अर्ब बाँडेर खायो भनेपछि बाबुरामलाई संकट, पार्टीले दियो यस्तो चुनौती

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 7.1K
    SHARES

  • कांग्रेसले ९ अर्ब बाँडेर खायो भनेपछि बाबुरामलाई संकट, पार्टीले दियो यस्तो चुनौती

    काठमाडौं- नेपाली कांग्रेसलगायतले ९ अर्ब रुपैयाँ बाँडेर खायो भनेका पूर्वप्रधानमन्त्री एवं जसपानेता बाबुराम भट्टराई संकटमा परेका छन् ।

    केहिदिनअघि गोर्खामा आयोजित एक कार्यक्रममा नेता भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए ।

    नेता भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसले आइतबार प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्ती जारी गरेको हो ।

    केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती जारी गर्दै कांग्रेसले नेता भट्टराईलाई प्रमाण जुटाउन समेत भनेका छन् ।

    यस्तो छ विज्ञप्ति

    असोज २५, २०७७

    डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण । प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील ।

    बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेकोे भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

    १) वर्तमान सरकार बनेपछि बुढिगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति नेपाली कांग्रेसले सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको सर्वविदितै छ ।

    ०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले बुढिगण्डकी परियोजना प्रकरण बारे गरेको निर्णय नं ४ मा भनिएको छ ।

    निर्णय नं ४, (क) बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको थियो । त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रकृया समेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय तर्फ अघि बढ्नुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ ।

    निर्णय नं ४, (ख) कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ ।

    निर्णय नं ४, (ग) नेपाली कांग्रेसको यो बैठक बुढी गण्डकी परियोजनाका बारेमा सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपील गर्दछ ।

    निर्णय नं ४, (घ) स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनु पर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ । केन्द्रीय कार्यसमितिको निर्णयकै जगमा पार्टीको पछिल्लो महासमिति बैठकले पनि ‘बुढिगण्डकी परियोजना स्वदेशी लगानीमै बन्नुपर्ने’ पार्टीको अडान दोहो¥याएको छ ।

    २) कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनु भएको नेपाली कांग्रेसको नेतृत्वको अघिल्लो सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल देश आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा एक बिशेष समिति गठन गरेको थियो ।

    ‘बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना लगानीको खाका तयार गर्न गठित समिति’ को सदस्य सचिव विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ हुनुहुन्थ्यो भने सदस्यमा राष्ट्र बैंकका तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी र तत्कालीन उर्जा सचिव अनुपकुमार उपाध्याय हुनुहुन्थ्यो । वर्तमान उर्जा सचिव दिनेशकुमार घिमिरे पनि उर्जा सहसचिवका हैसियतमा सो समितिको सदस्य हुनुहुन्थ्यो ।

    ३) वाग्ले समितिले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पुूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमुना बुढिगण्डकी बन्ने निष्कर्ष प्रस्तुत गरेको थियो । देउवा नेतृत्वको सरकारले गराएको सो गहिरो अध्ययन र निष्कर्ष भन्दा बाहिर गएको वर्तमान सरकारलाई ५ प्रश्न गरौं—

    - वाग्ले समितिले बुझाएको ४२ पृष्ठको प्रतिवेदन कहाँ थन्क्याइएको छ सरकार ?

    - स्वदेशी लगानीमा बन्न उपयुक्त ठहर गरिएको बहुउद्देश्यीय परियोजना बिदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पने तयारीमा के नियत लुकेको छ सरकार ?

    -डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढिगण्डकीका लागि उठाइंदै आएको अर्बौंको रकमको स्थिति के छ सरकार ?

    - स्थानीयबासीलाई मुआब्जा वितरणमा किन नियतबस अनियमितता गरिएको छ सरकार ?

    - ओली सरकारको अपारदर्शी रवैयाका कारण अब बुढिगण्डकिको भविष्य के हुन्छ ?

    ४) तर डा. बाबुराम भट्टराई बुढीगण्डकी बारे ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नु भएको छ । हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन ।

    तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ ।

    राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहिन आरोपले, हामी नम्र भाषामा अपील गर्दछौं तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ ।

    यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं । जय नेपाल ! विश्वप्रकाश शर्मा प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend