काठमाडौं - सरकार र आमरण अनसनरत डा.गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार मध्यराति वार्ता भाँडिएको छ ।
केसीको ज्यान लिने मनस्थितिका कारण सरकारी पक्षले वार्ता भाँडेको केसी वार्ता टोली संयोजक डा.जीवन क्षेत्रीले आरोप लगाएका छन् ।
दुवै पक्षमा सहमति भएको बुँदामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आपत्ति जनाएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको केसी पक्षका डा.जीवन क्षेत्रीले जानकारी दिएका छन् ।
शिक्षामन्त्री पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र केसीबीच हुनै लागेको सहमति भाँडिएको थियो । शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरेका थिए ।
उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा केसीसँग सहमति भएको मिति राख्न चाहेका थिएनन् । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद् बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाएका थिए ।
त्यही कारण हुनै लागेको सहमति भाँडिएको स्रोतले जनाएको छ । सहमतिको मस्यौदामा संशोधन गरेर हिँडेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीसँग सम्पर्कमै आएनन् ।
२७ दिनदेखि अनशनरत केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । उनको मुटुको चाल तलमाथि हुने, धड्कन बढ्ने छाती दुख्ने यही क्रम जारी रहेको खण्डमा कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको चिकित्सकले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।