काठमाडौं- नेपालमा बढ्दो यौनहिंसा घटनाहरुका विषयलाई उदृत गर्दै नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुल्ला पत्र लेखेकी छन् ।
पछिल्लो समय देशभर बलात्कार घटना घटिरहेका अवस्थामा देशमा बालबालिका एवं नारी सुरक्षाको चुनौति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छन् ।
देशमा कानुनले यस्ता गम्भीर घटनाका अपराधिहरुमाथि उचित कारबाही नगरेको उनको गुनासो छ । नारी पुजिने देश एवं नारी नै राष्ट्रपति भएको देशमा महिलाहरु असुरक्षीत रहनु लज्जास्पद भएको उनको भनाइ छ । सरकारमाथि विश्वास गर्ने आफुले अहिले सडकमा एक्लै हिड्दा डर लाग्ने अवस्था आएको बताएकी छन् ।
यस्तो अभिनेत्री ऋचाको निवेदन
आदरणीय प्रधानमन्त्रीज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ । मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ ।
मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।
जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोला‘जीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ ।
यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन। बाँकी तपाईहरु बुझकी ।
निवेदक
एक आम नेपाली नारी
ऋचा शर्मा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।