काठमाडौं - विभिन्न दाउपेच र रस्साकस्सीपछि नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनीत हुन सफल भएका छन् ।
अब उनलाई मन्त्री बनाउनुपर्ने भनाइ शीर्ष नेताहरूबाट आएपछि प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले सांसद बनाउँदा त चौतर्फी विरोधको सामना गर्नुपरेकाले झन् मन्त्री बनाउँदा पार्टी र सरकारको भविष्य के होला भनेर नेताहरूलाई प्रश्नसमेत गरेका छन् ।
आइतबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेताहरूलाई पनि मन्त्री बनाउँदा सरकार बलियो र प्रभावकारी हुने धारणा राखेपछि प्रधानमन्त्रीले त्यस्तो भनाइ राखेका हुन् ।
उनले वामदेव गौतमलाई मन्त्री बनाउन आफू सकारात्मक भए पनि एकपटक संविधानविद्हरूसँग परामर्श गरेर मात्र निर्णय लिँदा उपयुक्त हुने धारणा राखे । ओलीको यो अभिव्यक्तिपछि खुमलटार र भैंसेपाटी चिन्तामा परेको छ । ओली सकेसम्म गौतमलाई मन्त्री बनाउन नहुने पक्षमा छन् ।
गौतमको हठी स्वभावका कारण सरकार सञ्चालनमा आफूलाई कठिनाइ उत्पन्न हुने भय उनमा देखिएको छ । गौतमले उपप्रधान र अर्थ नभए गृह मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।