काठमाडौं - सत्तारुढ नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपछि आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई सांसद मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
तर, चार दिन बितिसक्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले वामदेवलाई सांसद मनोनीत गरेकी छैनन् । यसअघि प्रधानमन्त्री केपी ओलीले आफू र पार्टी अनुकूल निर्णय गरेको मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति भण्डारीले १५ मिनेटभित्र त्यो पनि रातारात स्वीकृत गर्थिन् ।
तर, वामदेवलाई सांसद मनोनीत गर्ने निर्णय किन अड्काएर राखिएको छ भन्ने रहस्यमै छ । नेकपाभित्रै यो विषयले ठूलै रडाको मच्चाउने आशंका गर्दै प्रधानमन्त्री ओलीले नै रोक्न लगाएको रहस्य खुल्दै गएको छ ।
आफ्ना प्रियपात्र डा.युवराज खतिवडालाई अर्थमन्त्रीबाट फाल्न वामदेवलाई सांसद बनाउने अडान राखिएपछि ओली क्रूद्ध बनेका थिए । मन्त्रीबाट हटेको दुई साता नबित्दै ओलीले खतिवडालाई बालुवाटारमा नियुक्ति दिलाइसकेका छन् ।
तर, वामदेवको सांसद बन्ने धोकोमा हलो अड्काएर राखेका छन् । तीन वर्षअघि निर्वाचनताका वामदेवले बर्दियामा आफू चुनाव जितेर गएपछि प्रधानमन्त्री बन्ने घोषणा गरेका थिए ।
उनको त्यो घोषणालाई केपी ओलीलगायतको उनको खेमाले रुचाएको थिएन । त्यसैले बर्दियामा तत्कालीन एमाले र माओवादीको मत जोड्दा कांग्रेसभन्दा ३० हजार बढी मत थियो । तर, कांग्रेसका सञ्जयकुमार गौतमले वामदेवलाई साढे सात सय मतले पराजित गरे ।
दुवैको मत ४४–४४ हजार आएको थियो । तर, सुनुयोजित ढंगले वामदेवलाई हराइयो । त्यसपछि पनि वामदेवले प्रधानमन्त्री बन्ने सपना देख्न छाडेनन् । उनले विभिन्न जिल्लामा उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा आउन खोजे ।
त्यहाँ पनि ओली नै बाधक बने । हुँदा हुँदा अहिले वामदेवलाई सांसद बन्न पनि धौ धौ बनाइदिएका छन् । प्रधानमन्त्री बन्ने वामदेवको योजना कम्तीमा साढे दुई वर्षसम्म च्याप्टर क्लोज भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।