काठमाडौैं - प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । केही महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कायममुकायम जिम्मेवारी कसलाई तोक्ने, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा राष्ट्रिय सभामा एक सदस्य मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नका लागि आज मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
अख्तियारमा प्रमुख आयुक्त नियुक्तिबारे छलफल भए पनि संवैधानिक परिषद् बैठकले मात्र नाम सिफारिस गर्न सक्ने संविधानमा व्यवस्था छ । त्यसैले नवीन घिमिरेको ठाउँमा वरिष्ठ आयुक्तलाई निमित्त जिम्मेवारी दिइने छ ।
तर, प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति भने आजै हुने बताइएको छ । ऊर्जा तथा सिँचाइ मन्त्रालयले कसलाई कार्यकारी निर्देशक नियुक्ति गर्ने भन्ने प्रस्ताव तयार पारेर मन्त्रिपरिषद् बैठकमा आइतबार पठाइसकेको छ ।
स्रोतका अनुसार कुलमान घिसिङको नाममा प्रस्ताव तयार पारिएको छ । त्यसैले कुलमान दोहोरिए सरकारले असल निर्णय गरेको जनताले महसुस गर्नेछन् ।
किनभने कुलमानलाई पुनः नियुक्ति गराउन जनस्तरबाट दबाब अभियान सुरु भइसकेको छ । राष्ट्रिय सभा सदस्यका लागि नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । त्यसैले आज मन्त्रिपरिषद् बैठकले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना प्रबल छ ।
प्रतिनिधिसभामा हारेका वामदेवलाई मन्त्री बनाउनकै लागि राष्ट्रिय सभा सदस्य बनाइने विषयमा जनताले असन्तुष्टि जनाएका छन् । यदि सरकारले उनलाई सिफारिस गरेमा यो खराब निर्णय हुन सक्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।