काठमाडौं– कालिका गापा–२ (साविक धैबुङ–६) स्थायी निवासी २०६४ को संविधानसभा निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित तथा ०७४ सालमा प्रदेश सभातर्फ निर्वाचित रसुवाली सांसद प्रेम तामाङले आफ्नै पूर्वव्यवसायी इन्द्र सापकोटालाई आफू विप्लव नेतृत्वको उपत्यका इञ्चार्ज चिरन पुन हुँ भन्दै रकम मागेको र सो रकम नदिए जे पनि हुने भन्दै धम्की दिएको (अडियो) फोन रेकर्ड प्राप्त भएको छ ।
सापकोटा, रसुवाको उत्तरगया–२ (साविक डाँडागाउँ–१) का निर्माण व्यवसायी हुन् । उनको स्वामित्वमा रहेको एलआईके कम्पनी हाल प्रेम तामाङकी श्रीमती दावा मेन्दो तामाङको नाममा खरिद भएको थियो । २ अगस्त २०२० (१७ साउन) को उक्त अडियोको मूल अंश यस्तो छः
सापकोटाः मैले कोई माइकालाललाई तिर्नु छैन । कसैसँग हिसाब टुंग्याउनलाई के म पैसा लगेर बाटोमा फालम्‘
चिरन पुन (नक्कली)ः तपाईं त्यसो भन्नुहुन्छ भने हामीलाई केही छैन।
सापकोटाः तिर्नुपर्ने छैन । तपाईंको कुरा यहींनेर चित्त नबुझ्दो के सर, मलाई सबै कुरा थाहा छ । राजनीतिक कुरा पनि थाहा छ । मैले पनि २–४ वर्ष, ५–१० वर्ष राजनीति गरेकै हुँ, सबै थाहा छ ।
पुनः तपाईंले कस्तो राजनीति गर्नुहुन्छ भन्ने पनि हामीलाई थाहा छ, हो कि हैन ? तपाईं कस्तो राजनीतिज्ञ हो, कस्तो व्यवहार गर्नुहुन्छ, त्यो पनि थाहा छ । तपाईंलाई बहुविवाहको मुद्दा कसले हाल्यो?
सापकोटाः खै, मेरै श्रीमतीले हाल्नुपरे हालेकी होलिन् ।
पुनः प्रेम तामाङलाई फोन गर्न लगाउँछु, ऊ रसुवाको सांसद हो ।
सापकोटाः गर्न लगाउनुस् त, हो हो उहाँ ठूलो मान्छे हो नि त !
पुनः प्रेम तामाङलाई हामीले चिन्दैन? प्रेम तामाङसँग मात्र हिसाबकिताब छ भने उसैसँग टुंग्याउनुस् न त कुरा सकिएन! धेरै कुरा गरिराख्नुहुन्छ? सर, राम्रो कुरालाई नराम्रोतिर नलग्नुस् है, तपाईंलाई मैले सिधै कुरा गरेको । हाम्रो पार्टी हो, संस्था हो । तपाईंको झूठा मुद्दा आइपुगेको छ । छिटोभन्दा छिटो टुंग्याउनुहोस् । म पुलिसको नजिक छु, यिनीहरूले केही गर्न सक्दैनन् भनेर नसोच्नुस् । तपाईंको रक्षा पुलिसले गर्न सक्दैन । पुलिसले यो देशको प्रधानमन्त्रीको त रक्षा गर्न सकेको छैन भने तपाईंको‘ । तपाईंको को–कोसँग लेनदेन छ, चाँडो प्रेम तामाङसँगै होस् या कोही? होइन भने राम्रो हुन्न । मैले भनिसकेको छु, म तपाईंसँग धेरै लामो बकबक गर्दिन । तपाईंले फोन गरेरै यो केस मिलाउनुभएन भने हामी भेट्छौं । त्यसपछि कुरा हुन्छ, तपाईंसँग धेरै कुरा के गर्नु ।
सापकोटाः ठीक छ, तपाईं भन्नुस् न म अहिल्यै भेट्छु तपाईंलाई । गाह्रो कुरै होइन किनभने मैले कसैलाई चेक काटेर दिएको पनि छैन ।
पुनः तपाईंले ठेक्कापट्टा गर्दा को–कोसँग पैसा लिएर गर्नुभएको थियो, हिसाब क्लियर गर्नुस् । चाहे तामाङ होस्, चाहे जोसुकै होस् । तपाईंले मैले प्रष्ट भन्देको छु कि तपाईंसँग को–कसको लेनदेन छ, त्यसको सबै हिसाबकिताब गरेर त्यसको फस्र्योट गर्नुस्, होइन भने राम्रो हुन्न । म धेरै कुरा गर्दिनँ । धेरै कुरा गर्न हाम्रो फुर्सद पनि छैन । हेर्नुस्, मेरो नाम चिरन पुन हो । भ्याली इञ्चार्ज हो । कुरो बुझ्नुभयो नि!
हामीलाई प्राप्त अडियोअनुसार पटक–पटक आफ्ना अज्ञात सहयोगीमार्फत सापकोटालाई प्रेम तामाङसँगको हिसाब मिलान गर्न दबाब दिनु, यसपूर्व पनि एक्लै पारेर गुण्डा लगाई रकम असुल गर्नु र पूर्वपार्टनरसमेत रहेका उनीहरूबीच लेनदेन विवाद रहनुले प्रेम तामाङले नै विप्लव नेतृत्वको पार्टीको नाममा ठगीधन्दा चलाइरहेको आशंका हुन्छ । जनआस्था साप्ताहिकबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।