आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०८३

  • 1.1K
    SHARES

  • देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
    फाइल तस्वीर

    काठमाडौँ- नेपाली काङ्ग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन्। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

    समितिका अनुसार विगत दुई दिन अत्यधिक वर्षा भएको र आज तथा भोलि पनि भारी वर्षा हुने पूर्वानुमानका आधारमा असोज १३ गतेभित्र अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको छ । निर्वाचन समितिले विकल्प दिएपछि विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा भोलि तथा पर्सिसम्ममा अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

    उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै अवरोध वा समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको छ। सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। पदेन सदस्यलाई मतदान गर्ने अधिकार भएपनि उम्मेदवार बन्ने अधिकार भने नहुने काङ्ग्रेसको विधानमा उल्लेख छ।

    प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ। यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन। यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ। ती १८ जनामध्ये दुवै प्रदेश सभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन-तीन जनाको दरले क्षेत्र 'क' र 'ख' बाट कुल ६ जना निर्वाचित हुनेछन्। त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार जना, युवामध्येबाट एक महिलासहित २ जना, जनसंख्याका आधारमा समानुपातिक तर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ।
     
    क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला ४, खुला १०, एक महिलासहित तीन युवा, जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्। साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जना चयन हुने व्यवस्था गरिएको छ। यसरी हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना सङ्घीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।

    सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ। महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक, र जनसंख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कुल १२ जना छनोट हुनेछन्।

    त्यसैगरी आजै हुने प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले 'क' र 'ख' दुवै तर्फका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ। प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन्। कोषाध्यक्ष भने प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ।

    प्रदेश सभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा २ महिला, एक दलित, एक युवा, तीन खुला र जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन्। यसबाहेक थप ७ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ। सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, ८ खुला, एक महिलासहित दुई युवा, जनसंख्याका आधारमा हुने समानुपातिकतर्फ ६ जना चयन गर्नेछ। त्यसैगरी पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ।

    काङ्ग्रेसको अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको र अब क्षेत्रीय अधिवेशन सकिएलगत्तै केन्द्रीय महाधिवेशन हुन लागेको छ। केन्द्रीय महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न गर्ने गरी तीव्र तयारी भइरहेको काङ्ग्रेसले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०८३०९:३१:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend