पोखरा - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३ (ख) बाट महिला प्रदेश प्रतिनिधि पदमा कमला गिरीले उम्मेदवारी घोषणा गरेकी छन्। पर्यटन व्यवसाय, सामाजिक क्षेत्र तथा विभिन्न संस्थाको नेतृत्वमा हासिल गरेको अनुभवलाई पार्टीको संगठनात्मक भूमिकासँग जोड्ने उद्देश्यसहित गिरी प्रदेश प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएकी हुन्।
पोखरा महानगरपालिका–५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गिरीले आफ्नो उम्मेदवारीलाई पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने अवसरका रूपमा अघि सारेकी छन्।
बागलुङको बलेवामा जन्मिएकी गिरीले १२ वर्ष मेडिकल क्षेत्रमा काम गरेपछि पछिल्लो १५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय रहेको बताएकी छन्। उनी मेट्रो इन टूर एन्ड ट्राभलकी प्रबन्ध निर्देशक हुन्। सुमी मनी चेन्जर, सोभिनियर सप तथा स्पा एकेडेमीलगायतका व्यवसायमा समेत उनको संलग्नता रहेको छ।
गिरीले विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा नेतृत्वको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। उनी टेवान पोखराकी निवर्तमान अध्यक्ष, रोटरी क्लब अफ पोखराकी निवर्तमान अध्यक्ष तथा बागलुङ बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष हुन्।
त्यसैगरी, नाट्टा गण्डकीमा सदस्यबाट संगठनात्मक जिम्मेवारी सुरु गरेकी गिरीले सचिव, महासचिव हुँदै द्वितीय उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। उनले नाट्टा गण्डकीको अध्यक्ष पदमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।
विभिन्न संस्था तथा संगठनमा काम गर्दा प्राप्त गरेको नेतृत्व, व्यवस्थापन र समन्वयको अनुभवलाई कांग्रेसको संगठनमा उपयोग गर्ने गिरीले बताएकी छन्।
महिला सहभागिता, संगठनमा सक्रिय भूमिका तथा विभिन्न क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको जिम्मेवारीसँग जोड्ने विषयलाई उनले आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा अघि सारेकी छन्।
कास्की क्षेत्र नं. ३ (ख) मा प्रदेश प्रतिनिधिका लागि हुने प्रतिस्पर्धामा गिरीसहित अन्य उम्मेदवारहरू पनि रहनेछन्। क्षेत्रीय प्रतिनिधिहरूले उम्मेदवारहरूको राजनीतिक तथा संगठनात्मक संलग्नता र योगदानका आधारमा प्रदेश प्रतिनिधि छनोट गर्नेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।