काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।
केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ । त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ ।
बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।
कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।