काठमाडौं - नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि पदका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्।
पार्टीमा नयाँ तथा युवा पुस्तालाई अवसर र जिम्मेवारी दिनुपर्ने आवश्यकता रहेको भन्दै नेपालीले यसपटक महाधिवेशनको प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लामो राजनीतिक अनुभव र योगदानलाई पार्टीको हितमा निरन्तरता दिने शुभेच्छुक तथा साथीहरूको सुझावप्रति सम्मान व्यक्त गरे पनि समयको माग र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय गरेको बताएका छन्।
‘समयको माग, पार्टीमा नयाँ तथा युवा पुस्तालाई अवसर र जिम्मेवारी प्रदान गर्नुपर्ने आवश्यकता लगायत विभिन्न पक्षलाई गम्भीरतापूर्वक विचार गर्दा, यसपटकको १५औँ महाधिवेशनमा कुनै पदका लागि प्रतिस्पर्धा नगरी बाहिरै रहेर महाधिवेशनको सफलताका लागि सहयोग र योगदान गर्नु नै उपयुक्त ठानेको छु,’ उनले भनेका छन्।
नेपालीले आफू कुनै पदको प्रतिस्पर्धामा नरहे पनि पार्टीप्रतिको सक्रियता, जिम्मेवारी र प्रतिबद्धता निरन्तर रहने बताएका छन्। उनले नयाँ पुस्ताका नेताहरूलाई आवश्यक सहयोग, मार्गदर्शन र अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
उनले पार्टीभित्र आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने वातावरण बनाउन जिल्लाका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
करिब ५५ वर्ष लामो राजनीतिक यात्रामध्ये झन्डै ४५ वर्ष नवलपरासीको राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको नेपालीले बताएका छन्। यस अवधिमा उनले चार पटक जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए। उनी दुई पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए।
संघीय संरचनामा मुलुक प्रवेश गरेपछि भएको पहिलो प्रदेशसभा निर्वाचनमा नवलपुर–१ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका नेपाली गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री बनेका थिए।
यसैबीच, नेपालीले हालै भोटेकोशी तथा रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार, खोजी तथा राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेका छन्।
नेपालीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीलाई अझ एकताबद्ध र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा पनि राखेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।