काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आज औपचारिक रूपमा सम्पन्न हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन समितिले स्थानीय अवस्था र अनुकूलताअनुसार हिजो र आज वडा अधिवेशन सम्पन्न गर्न सकिने कार्यतालिका सार्वजनिक गरेपछि देशभर वडा अधिवेशनको प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले सम्बन्धित वडाको अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। वडा क्षेत्रभित्र रहेका क्रियाशील सदस्य नै वडा अधिवेशनका मतदाता तथा सदस्य हुनेछन्।
वडा अधिवेशनले सम्बन्धित वडाको नयाँ कार्यसमिति चयन गर्नुका साथै पार्टीको आगामी संगठनात्मक संरचनाका लागि आवश्यक प्रतिनिधिसमेत छनोट गर्नेछ। अधिवेशनबाट वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्यहरू निर्वाचित हुनेछन्।
निर्वाचन समितिका अनुसार केही अपवादबाहेक आज देशभरका अधिकांश वडामा अधिवेशन सम्पन्न हुनेछ। तर, बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रका वडामा भने यस चरणमा वडा अधिवेशन सञ्चालन नहुने भएको छ।
वडाको तहअनुसार सदस्य संख्या फरक
कांग्रेसको विधानले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तर्गतका वडाको कार्यसमिति गठनमा फरक–फरक व्यवस्था गरेको छ। वडा कार्यसमितिमा महिला, दलित तथा युवा प्रतिनिधित्व सुनिश्चित गर्न विधानमै निश्चित संख्या तोकिएको छ।
गाउँपालिकाअन्तर्गतको वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ।
त्यसैगरी नगरपालिका तथा उपमहानगरपालिकाअन्तर्गतका वडा अधिवेशनबाट दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जना वडा सदस्य निर्वाचित हुनेछन्।
महानगरपालिकाअन्तर्गतका वडामा भने कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन्।
वडा सभापतिलाई सदस्य मनोनयनको अधिकार
कांग्रेसको विधानले वडा सभापतिलाई वडा कार्यसमितिमा थप सदस्य मनोनयन गर्ने अधिकारसमेत दिएको छ। स्थानीय तहअनुसार मनोनयन गर्न पाउने सदस्यको संख्या पनि फरक छ।
गाउँपालिका वडा सभापतिले पाँच जना, नगरपालिका तथा उपमहानगरपालिका वडा सभापतिले छ जना र महानगरपालिका वडा सभापतिले सात जनासम्म सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ।
तर, यस्तो मनोनयन गर्दा वडा कार्यसमितिमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ। साथै पार्टीको समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिनुपर्ने विधानमा उल्लेख छ।
वडा सभापतिले सम्बन्धित वडाका क्रियाशील सदस्यमध्येबाटै समावेशी प्रतिनिधित्वलाई ध्यानमा राखेर सदस्य मनोनयन गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ।
वडा कार्यसमितिको नियमित बैठक अनिवार्य
कांग्रेस विधानले निर्वाचित वडा कार्यसमितिको नियमित बैठकसम्बन्धी व्यवस्था पनि गरेको छ। विधानअनुसार प्रत्येक वडा कार्यसमितिले महिनामा कम्तीमा एकपटक बैठक बस्नुपर्नेछ।
आवश्यकताअनुसार क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्था पनि विधानमा गरिएको छ।
त्यसैगरी वडा कार्यसमितिले आफ्नो मातहतमा रहेका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य रूपमा आमन्त्रण गर्नुपर्नेछ। यस व्यवस्थाले वडा र टोल तहबीचको संगठनात्मक समन्वयलाई संस्थागत गर्ने उद्देश्य राखेको कांग्रेसको विधानमा उल्लेख छ।
विधानअनुसार एउटै व्यक्ति क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुनुका साथै गाउँपालिका वडा कार्यसमितिको सदस्यसमेत बन्न सक्ने व्यवस्था छ।
क्षेत्रीय अधिवेशनका प्रतिनिधि पनि चयन हुँदै
वडा अधिवेशनको अर्को महत्वपूर्ण काम क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन गर्नु हो। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाअन्तर्गतका वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका प्रतिनिधि पनि चयन हुनेछन्।
निर्वाचन समितिका अनुसार क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ।
यससँगै वडा अधिवेशन कांग्रेसको १५औँ महाधिवेशनको तल्लो तहको संगठन निर्माण र आगामी अधिवेशन प्रक्रियाका लागि महत्वपूर्ण आधार बन्नेछ। वडा तहबाट निर्वाचित कार्यसमिति तथा चयन भएका प्रतिनिधिले त्यसपछि हुने पालिका, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रियामा भूमिका निर्वाह गर्नेछन्।
स्थानीय तहअनुसार समावेशी प्रतिनिधित्व, महिला सहभागिता, दलित तथा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी गरिएको व्यवस्थाका कारण यसपटकको वडा अधिवेशनबाट गठन हुने कार्यसमितिमा विभिन्न समूहको सहभागिता सुनिश्चित गर्ने प्रावधानलाई विशेष महत्व दिइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।