काठमाडौँ - वर्षौँदेखि उपभोग गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित धनुषाको हंसपुर नगरपालिका–५ का ३६५ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारका अनुसार विसं २०७२ मा नाप नक्सा सम्पन्न भए पनि रोकिएको स्ववासी तथा गाउँ ब्लक क्षेत्रको जग्गा दर्ता प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो।
लालपुर्जा प्राप्त भएसँगै स्थानीयवासीले जग्गामाथि कानुनी स्वामित्व पाएका छन्। यसबाट जग्गा बैंकमा धितो राखेर ऋण लिन, किनबेच गर्न तथा अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
धनुषामा सञ्चालन भइरहेको यही अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का ३७५ परिवारलाई पनि लालपुर्जा वितरण गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।
नापी सम्पन्न भई जग्गा दर्ता हुन बाँकी रहेका अन्य क्षेत्रको विवरणसमेत अध्ययन भइरहेको नापी कार्यालय धनुषाले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।