काठमाडौँ - पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी आन्दोलन’को एक वर्ष पुगेको अवसरमा राजनीतिक स्थायित्व, सुशासन र शासकहरूको कार्यशैलीबारे गम्भीर टिप्पणी गरेकी छन्।
गत वर्षको जेनजी आन्दोलनपछि चुनावी सरकारको नेतृत्व गरेकी कार्कीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै संसद्मा स्पष्ट वा दुईतिहाइ बहुमत हुँदैमा मात्र राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएकी हुन्।
उनले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै सुशासनको अभावमा संसद्को दुईतिहाइ बहुमतले समेत स्थायित्व दिन नसक्ने बताएकी छन्। उनका अनुसार राजनीतिक स्थायित्व संसदीय अंकगणितभन्दा शासकको चरित्र र कार्यशैलीमा निर्भर हुन्छ।
कार्कीले जनतालाई पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना नगर्न राजनीतिक नेतृत्व तथा राज्यका सम्बन्धित निकायलाई आग्रह गरेकी छन्। उनले सुशासन र परिवर्तनका लागि नागरिकले फेरि आन्दोलन गर्नुपर्ने परिस्थिति आउन नदिन सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, विधिको शासन सुनिश्चित गर्ने र नागरिकको सम्मान गर्ने विषयमा सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्ने अपेक्षा व्यक्त गरेकी छन्।
यसैबीच, जेनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिको एक वर्ष पूरा नहुँदै मुलुकले भोटेकोसी बाढीको अर्को पीडादायी विपद् सामना गरिरहेकोतर्फ पनि कार्कीले ध्यानाकर्षण गराएकी छन्। उनले पछिल्ला घटनाबाट राज्य र राजनीतिक नेतृत्वले आवश्यक पाठ सिक्नुपर्ने संकेत गरेकी छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।