काठमाडौँ - अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ६ः३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
काठमाडौँ र धादिङको सीमास्थित चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण अवरुद्ध सडकखण्ड अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
यस्तै, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। विशेष परिस्थिति र सुरक्षा अवस्थाको मूल्याङ्कन गरी बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालनबारे निर्णय गरिने प्रहरीले जनाएको छ।
उता रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन बन्द रहने जनाइएको छ।
यसैगरी, सम्भावित जोखिमलाई मध्यनजर गर्दै शिवपुरी गाउँपालिका–८ स्थित टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीले वर्षाका कारण सडकमा जुनसुकै बेला पहिरो तथा बाढीको जोखिम हुन सक्ने भएकाले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।