काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोशीमा आएको विपत्तिपछि राष्ट्रिय विपद्को एकताबद्ध भएर सामना गर्नुपर्ने नीतिअनुसार कांग्रेसले सरकारलाई सहयोग गरेको बताएका छन्।
पार्टीको नीति प्रतिष्ठानको बैठकमा बोल्दै शर्माले सरकारलाई सहयोग गर्ने अवस्थामा कांग्रेस पुगे पनि रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा भने सरकारले गम्भीर लापरबाही गरेको आरोप लगाए।
उनले प्राविधिक जनशक्तिबाट गर्नुपर्ने उद्धार कार्यमा खेलबाड गर्दै मन्त्रीहरू प्रचारबाजीमा रमाएको टिप्पणी गरे। उद्धारमा भएको ढिलाइले सरकारले मानवताविरुद्धको अपराधसरहको काम गरेको उनको जिकिर थियो।
बैठकमा नीति प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई केन्द्रित गरेर स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलबारे पनि समीक्षा गरिएको थियो। शर्माले एउटा स्थानीय तहमा विपत्ति पर्दा अर्को स्थानीय तहले सहयोग गर्ने भावनाका साथ आपसी समन्वय गरेर राहत तथा उद्धारमा जुट्न आग्रह गरे।
छलफलको सुरुवातमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस जिल्ला सभापतिहरूले पीडित तथा प्रभावित नागरिकले समयमै उद्धार र राहत नपाएको जानकारी गराएका थिए। उनीहरूले संघीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिलाई बेवास्ता गरेर काम गर्न खोज्दा समस्या थपिएको बताएका थिए।
छलफलमा शवगृहमा राखिएका शवसमेत लुटपाट भएको तथा सत्तारूढ दलका नेता–कार्यकर्ताले विभिन्न ठाउँमा पहुँच पाए पनि स्थानीय जनप्रतिनिधिलाई निषेध गरिएको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।
बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव वंशलाल तामाङसहित रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका महानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र पार्टी प्रतिनिधिहरू सहभागी थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।