काठमाडौं - अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुलाई उच्च सतर्कता अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
बाढीपहिरोको जोखिमका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
प्रहरीका अनुसार दिउँसो भने सडकको अवस्था मूल्यांकन गरेपछि मात्र सवारी सञ्चालन गर्न दिइनेछ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यता, शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा पनि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।
सडकको अवस्था र मौसममा आएको परिवर्तनका कारण जोखिम बढ्न सक्ने भएकाले प्रहरीले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। सम्भव भएसम्म जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्नसमेत अनुरोध गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।