काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दलहरू दलीय सीमाभन्दा माथि उठेर सरकारसँगै एकताबद्ध भएर उभिने पुरानो परम्परा रहेको बताएका छन्।
बिहीवार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस कठिन घडीमा राज्यका नियमित संयन्त्रहरू मात्रै पर्याप्त नहुने भएकाले राजनीतिक दल, निजी क्षेत्र र सामाजिक संस्थासमेतलाई पूर्ण रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पुर्याउन सबै पक्ष एक भएर जुट्नुपर्ने उनको भनाइ छ। बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा राजनीतिक दलका कार्यकर्ताहरूलाई परिचालन गर्न विशेष आग्रह गरेको जानकारी दिँदै सभापति थापाले कांग्रेस त्यसका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। सरकारको उक्त आग्रहअनुसार कांग्रेसले आफ्ना आन्तरिक विपद् व्यवस्थापन संरचनामार्फत आवश्यक जनशक्ति र कार्यकर्ताहरूलाई मैदानमा उतार्ने उनले बताए।
इतत्र ठूलो प्राकृतिक विपत्तिपछिको राहत तथा उद्धार कार्य केवल सरकारसँग भएका सीमित स्रोत र साधनबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै सभापति थापाले राज्यले ‘गैर-राज्य’ भनिने निजी क्षेत्र, राजनीतिक दल र सामाजिक संस्थाहरूलाई पनि आफ्नै तागत ठानेर एकीकृत रूपमा परिचालन गर्नुपर्ने सुझाव दिए।
साथै, सबै प्रकारका सहयोगीहरूलाई राज्यले तोकेबमोजिम ‘एकद्वार प्रणाली’ मार्फत मात्रै आवश्यक सहयोग पुर्याउन उनले आग्रह गरेका छन्। यसका साथै, नेपाली कांग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्थापना कार्यका लागि सरकारी कोषमा आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने जानकारी उनले दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।